विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व को हुन्छ भन्ने कौतुहलताको अन्त्य अब केही घण्टामै हुँदैछ। मतपत्र गन्ने झन्झटिलो प्रक्रियालाई तोड्दै एमालेले प्रविधिको प्रयोगमार्फत आजै बिहान ११ बजे आसपास नेतृत्वको छिनोफानो गर्ने तयारी गरेको छ।
बिहीबार बिहान मतदान सकिएलगत्तै ८० वटै भोटिङ मेसिनबाट तथ्यांक सुरक्षित गरिएका ‘चिप्स’ निकालिएसँगै एमालेको भावी नेतृत्वको भविष्य अब डिजिटल चिप्समा कैद भएको छ। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मेसिनबाट चिप्स निकाल्ने संवेदनशील काम सकिएर गणनाको प्राविधिक प्रक्रिया सुरु भइसकेको छ।
महाधिवेशनमा कुल २ हजार २ सय २७ जना प्रतिनिधिले एमालेको आगामी ५ वर्षे कमान्ड कसलाई सुम्पिने भनेर विद्युतीय मेसिनमा आफ्नो निर्णय दर्ज गरेका छन्। यद्यपि, ३६ जना प्रतिनिधि भने यो ऐतिहासिक मतदान प्रक्रियामा अनुपस्थित रहे। अब यिनै २ हजार २ सय २७ जनाको ‘डिजिटल म्यान्डेट’ ले ११ बजे एमालेको नयाँ सारथी घोषणा गर्नेछ।
यसपटकको चुनाव प्रविधिले मात्र होइन, उम्मेदवारीका हिसाबले पनि अर्थपूर्ण बनेको छ। अध्यक्ष पदका लागि लामो समय सहकार्य गरेका केपी शर्मा ओली र ईश्वर पोखरेल आमने–सामने छन्। त्यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीचको कडा टक्करले नतिजालाई थप पेचिलो बनाएको छ। दुवै पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएकाले परिणाम कस्तो आउँछ भन्ने चासो सर्वत्र छ।
आयोगले पद अनुसार छुट्टाछुट्टै नतिजा सार्वजनिक नगरी सबै पदको परिणाम एकैपटक सार्वजनिक गर्ने ‘सरप्राइज’ तयारी गरेको छ। मेसिन लक गरी कोड नम्बरका आधारमा सिल गरिएका चिप्सहरूको डाटा कलेक्सनपछि सर्वपक्षीय बैठक बस्ने र लगत्तै ११ बजे सम्पूर्ण नतिजा एकमुष्ट सार्वजनिक गरिनेछ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।