युरोपमा अहिले चिसो र हिमपातको मौसम चलिरहे पनि फ्रान्समा भने बिजुलीको मूल्य घटेर शून्यमा झरेको छ । अत्यधिक उत्पादन र न्यून मागका कारण सरकारले केही समयका लागि जनतालाई निःशुल्क रूपमा बिजुली आपूर्ति गरेको हो ।
समाचार अनुसार डिसेम्बर ८ का दिन फ्रान्सको डे–अहेड बजारमा बिजुलीको मूल्य शून्यमा झरेको थियो । केही घण्टासम्म बिजुली वास्तवमै निःशुल्क बनेको यो अवस्था ऊर्जा बजारमा दुर्लभ मानिन्छ । ब्लुम्बर्गका अनुसार यसको मुख्य कारण ऊर्जा अधिकता अर्थात् एनर्जी सरप्लस हो ।
डिसेम्बरमा अत्यधिक चिसो हुने अपेक्षा गरिए पनि फ्रान्ससहित युरोपका धेरै देशमा तापक्रम असामान्य रूपमा न्यानो रह्यो । तापमान बढ्दा हिटरजस्ता न्यानो पार्ने उपकरणको प्रयोग घट्यो र बिजुलीको माग तीव्र रूपमा कम भयो । अर्कोतर्फ तीव्र हावाका कारण वायु ऊर्जाबाट उत्पादन बढ्यो भने आणविक ऊर्जा भट्टीहरू पनि करिब ८५ प्रतिशत क्षमतामा सञ्चालनमा रहे । यसले ग्रिडमा आवश्यकता भन्दा धेरै विद्युत् आपूर्ति भयो र बजारमा बिजुली बिक्री नै नभएर खेर जाने अवस्था आयो ।
युरोपमा पछिल्ला वर्षहरूमा यस्तो अवस्था बारम्बार देखिन थालेको बताइएको छ । कम माग हुने समयमा नवीकरणीय ऊर्जाको उत्पादन बढ्दा बिजुलीको मूल्य तीव्र रूपमा घट्ने र कहिलेकाहीँ बोलकबोल बजारमा मूल्य शून्यभन्दा तलसमेत झर्ने गरेको छ ।
रोयटर्सका अनुसार सन् २०२२ को ऊर्जा संकटपछि तीव्र रूपमा बढेको ऊर्जा मूल्य हाल सन् २०१८ यताकै न्यून विन्दुमा पुगेको छ । २०२२ को संकटका बेला धेरै उद्योग बन्द हुनुपरेको वा ऊर्जा खपत घटाउन बाध्य भएकोले दीर्घकालीन रूपमा नै बिजुलीको माग कमजोर बनेको विश्लेषण गरिएको छ ।
– एजेन्सी




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।