विराटनगर । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकासँग फराकिलो अन्तरले पराजित भएको नेपालमाथि प्रतियोगितामा अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।
दुबईमा हुने नेपाल र बंगलादेशबीचको खेल बिहान १०ः४५ बजे सुरु हुनेछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशालामा भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । ८३ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । ब्याटिङ नचल्दा पहिलो खेलमा हार व्यहोरेको नेपाल आजको खेलमा ब्याटिङ सुधार गर्दै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । मङ्सिर २६ गतेदेखि सुरू भएको यस प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् । समूह चरण पार गर्न र सेमिफाइनलको सम्भावना बलियो बनाउन नेपालका लागि आजको खेल महत्वपूर्ण मानिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।