लोड हुँदैछ...

मेनु

नयाँ भन्सार ऐनविरुद्ध एजेन्टको आन्दोलनले विराटनगर भन्सार ठप्प

नयाँ भन्सार ऐनविरुद्ध एजेन्टको आन्दोलनले विराटनगर भन्सार ठप्प

विराटनगर । नेपाल सरकारले हालै ल्याएको नयाँ भन्सार ऐनका विरुद्ध भन्सार एजेन्टहरू आन्दोलित हुँदा विराटनगर भन्सार कार्यालयको कामकारबाही प्रभावित बनेको छ । एजेन्टहरूको आन्दोलनका कारण मंगलबारदेखि विराटनगर भन्सार कार्यालय पूर्ण रूपमा ठप्प भएको हो ।

भन्सार एजेन्ट महासंघ नेपालको आव्हानमा सुरु भएको यो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रले पनि साथ दिएको छ । यहाँका दुई मुख्य व्यावसायिक संगठन—नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले एजेन्टहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समर्थन गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवन सारडाले सरकारले ल्याएको नयाँ ऐन कर्मचारीतन्त्रलाई मात्र बलियो बनाउने र उद्योगी–व्यवसायी तथा एजेन्टलाई दण्डित गर्ने नियतले आएको आरोप लगाए । अध्यक्ष सारडाले भने, ‘सरकारले उद्योगी व्यवसायीसँग ुब्ल्याकमेलु गर्ने गरी ल्याएको यो ऐन खारेज वा संशोधन नभएसम्म हामी एजेन्टको आन्दोलनलाई पूर्ण समर्थन गर्छौं ।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले पनि ऐनमा भएको जरिवानाको व्यवस्था अव्यावहारिक रहेको बताए । ‘फारम भर्दा जानअन्जानमा हुने सामान्य गल्ती वा त्रुटिमा पनि शतप्रतिशतसम्म जरिवाना गर्ने गरी ल्याइएको यो ऐन तत्काल संशोधन गर्नु पर्ने अवस्था छ,’ अध्यक्ष राउतले भने ।

अनिश्चितकालसम्म भन्सार बन्द रहने चेतावनी
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले महासंघको निर्देशन अनुसार मंगलबारदेखि काम बन्द गरिएको जानकारी दिए । यता, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रविण जोशीले सरोकारवालाको जायज मागलाई भन्सार विभागले बेवास्ता गरेका कारण कठोर कदम चाल्नुपरेको बताए । सचिव जोशीले भने, ‘हामीले पटक–पटक विभागको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन । त्यसैले बाध्य भएर देशभरका भन्सार कार्यालय ठप्प पार्नुपरेको हो । माग सम्बोधन नभएसम्म यो अनिश्चितकालीन बन्द निरन्तर रहनेछ ।’ मंगलबार बिहानैदेखि भन्सार एजेन्टहरू विराटनगर भन्सार कार्यालय परिसरमा भेला भएर आयात–निर्यात र जाँचपासको काम रोकेका छन् ।

दैनिक १४ करोडको राजश्व असुली प्रभावित
आन्दोलनका कारण भन्सारको राजश्व संकलनमा असर परेको छ । विराटनगर भन्सार कार्यालयले सरकारले दिएको लक्ष्य अनुसार दैनिक १४ करोड रुपैयाँभन्दा बढी राजश्व उठाउनु पर्ने जिम्मेवारी पाएको छ । तर, भन्सार एजेन्टहरूले काम रोकेपछि राजश्व असुली पूर्ण रूपमा ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।