काठमाडौँ । लामो समयदेखि दूधको भुक्तानी नपाएर समस्यामा परेका दुग्ध उत्पादक किसानले अन्ततः राहत पाएका छन्। किसानको रोकिएको करिब ४ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी भएको छ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी क्षेत्रका डेरी उद्योगहरूले किसानको बक्यौता रकम तिरेका हुन्। प्राप्त विवरण अनुसार डिडिसीले १ अर्ब रुपैयाँ र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेका छन्। लामो समयदेखि भुक्तानी नपाउँदा किसानहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएका थिए।
डेरी उद्योगहरूले गोदाममा थुप्रिएको धुलो दूध (पाउडर) र बटर बिक्री गरेर किसानको पैसा तिरेका हुन्। बजारमा दूधको खपत घटेपछि उद्योगहरूले दूधलाई पाउडर र बटर बनाएर भण्डारण गरेका थिए। सोही मौज्दात बिक्री भएपछि नगद प्रवाहमा सहजता आउँदा किसानको भुक्तानी सम्भव भएको हो।
निजी क्षेत्रका डेरी उद्योगहरूले किसानको अधिकांश भुक्तानी चुक्ता गरिसकेका छन्। तर, सरकारी संस्थान डिडिसीको भने अझै केही रकम तिर्न बाँकी छ। डिडिसीले अझै करिब ४५ करोड रुपैयाँ (तीन महिनाको भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ। यद्यपि, १ अर्ब भुक्तानी भइसकेकाले किसानलाई ठूलो राहत मिलेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।