लोड हुँदैछ...

मेनु

लगातार ६ दिनदेखि सेयर बजारमा गिरावट

लगातार ६ दिनदेखि सेयर बजारमा गिरावट

विराटनगर । लगातार छैटौँ कारोबार दिन पनि सेयर बजार नकारात्मक देखिएको छ ।

सोमबार नेप्से परिसूचक ३.०२ अंकले घट्दै २६०६ अंकमा रोकिएको छ । गत साता कारोबार भएका चार दिन र यो साता थप दुई दिनसहित ६ दिनमा बजार १७० अंकले झरेको छ ।

मंसिर ११ गते २७७६ अंकमा रहेको नेप्से अहिले २६०६ मा झरेको छ । राजनीतिक अस्थिरता र आगामी चुनावसम्बन्धी अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढेको कारण बजार घटेको पाइएको छ ।

सोमबार ९९ कम्पनीका सेयर मूल्य बढेपनि १४७ कम्पनीका सेयर घटे र १२ कम्पनी स्थिर रहे । दिनभर बजार सामान्य उतार–चढावमै सीमित रह्यो । कारोबार रकम पनि घटेर अघिल्लो दिनका ५ अर्ब ३३ करोडबाट ४ अर्ब ६६ करोडमा झर्‍यो ।

समूहगत सूचकहरूमा मिश्रित अवस्था देखियो । जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा वृद्धि देखिएको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स र अन्य समूहका सूचक तल झरेका छन् ।

सोमबार चार कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढ्यो । तीमध्ये अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक परे। त्यस्तै इङ्वा हाइड्रोपावर ९.०३ प्रतिशत र पियोर इनर्जी ४.४ प्रतिशतले बढे।

यस दिन सपोर्ट माइक्रोफाइनान्स ५.१६ प्रतिशत, मेन्छियाम हाइड्रोपावर ३.७३ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंक ३.६८ प्रतिशतले घटे। सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सागर डिस्टिलरी, पियोर इनर्जी, राधि विद्युत् र झापा इनर्जी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।