विराटनगर । मुलुकको जेठो उद्योग वाणिज्य संघका रूपमा स्थापित मोरङ उद्योग व्यापार संघले ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ।
विद्यमान आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यले विराटनगरमा आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो आयोजना गर्ने संघले जनाएको छ ।
विराटनगर–२ शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गर्ने संघले जनाएको छ । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेन्जी आन्दोलनपछि उत्पन्न अनिश्चित आर्थिक अवस्था र शिथिलतालाई तोड्न यो मेला कोसेढुङ्गा साबित हुने दावी गरिएको छ ।
मुलुककै आर्थिक मेरुदण्ड मानिने मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन, विकास र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने मुख्य लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोले कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा जोड दिनेछ। साथै नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको बजार विस्तार गर्ने आयोजकको दावी छ ।
मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र दर्शकलाई नयाँपनको आभास दिलाउन विशेष तयारी गरिएको छ। एक्स्पोमा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहितका करिब २३० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनका साथै छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि राखिनेछन्।
एक्स्पोले परम्परागत व्यापार मेलाको ढाँचाभन्दा माथि उठेर ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ । मेलामा स्टार्टअप, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता प्रवर्द्धनसँग सम्बन्धित विशेष स्टलहरू रहनेछन् ।
नयाँ उद्यमीहरूका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, व्यवसाय विस्तारका उपाय र डिजिटल ज्ञानबारे जानकारी दिने उद्देश्यले विभिन्न गोष्ठी र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछ । यसका साथै साइबर सुरक्षा, कर–लेखा सम्बन्धी नयाँ प्रणाली र पर्यटन प्रवर्द्धन रणनीतिबारे विज्ञहरूसँग छलफल हुने कार्यक्रम तय गरिएको छ।
दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न एक्स्पोमा सांगीतिक र मनोरञ्जनात्मक पक्ष पनि रहनेछ । हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड तथा कलाकारहरू कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य लगायतको विशेष प्रस्तुति रहनेछ ।
मेला परिसरभित्र सेल्फी जोन, बालबालिकाका लागि किड्स जोन, फिस तथा जलपरी टनेल निर्माण गरिनेछ भने नेपाली कला र संस्कृति झल्किने गरी आकर्षक प्रवेशद्वार बनाइनेछ । जसले दर्शकलाई फरक अनुभूति दिलाउनेछ।
एक्स्पोको मुख्य प्रायोजकका रूपमा ‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ संयुक्त रूपमा रहेका छन् । मेलाले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने दावी अयाोजकको छ ।
मेलामा नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट गरी करिब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मोरङ उद्योग व्यापार संघले विगतमा पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सवजस्ता कार्यक्रमहरू गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।