विर्तामोड । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालय झापाबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा अलैँची निर्यात सतप्रतिशतले बढेको छ ।
कार्यालयको तथ्यांक अनुसार यो अवधिमा ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
चार महिनामा १ हजार ८ सय २३ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब ९० करोड २ लाख बराबरको अलैँची निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यो वर्ष अलैँचीको मूल्य १ लाख १० हजार प्रतिमनसम्मले कारोबार भएको छ । व्यापारीले चलनचल्तीको, पुच्छर काटेको र ठूलो दाना भएको गरी तीन किसिमले अलैँचीको वर्गीकरण गरेर कारोबार गर्दै आएका छन् ।
पुच्छर काटेको ठूलो दानाको मूल्य सबैभन्दा बढी रहेको छ । तर, यसको कारोबार भने झापाको बिर्तामोडमा अधिक हुन्छ । पुच्छर काटेको दानाको मूल्य त्यसपछि धेरै हुने गरेको छ । चलनचल्तीमा भने जस्तो सुकै अलैँची बिक्री हुने गरेको छ । यसको मूल्य सबैभन्दा कम हुन्छ ।
ठूलो दानाले चलनचल्तीको भन्दा प्रतिमन १० हजार रुपैयाँ बढीसम्म पाउने गरेको छ । पुच्छर काटेकोले ३ देखि ५ हजार रुपैयाँ बढी साटिन्छ ।
नेपालमा उत्पादित अधिकांशजसो अलैँची मेची भन्सार कार्यालय भएरै निर्यात हुने गरेको छ । नेपालको ९८ प्रतिशत अलैँची भारत निर्यात हुने तथ्यांकले देखाएको छ ।
भारतबाट भने पाकिस्तान र खाडी मुलुकमा अलैंची निर्यात हुन्छ । मसला बनाउने प्रयोजनका लागि नेपाल, भारत र भुटानको अलैँची तेस्रो देश जाने गरेको व्यवसायीहरुले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।