विराटनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नेपाल युवा संरक्षक मञ्चको आयोजनामा आज विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले बालबालिकालाई लैंगिक हिंसाबाट मुक्त गर्नुपर्ने बताइन् । उनले कार्यक्रमले डिजिटल माध्यममार्फत बढ्दो साइबर अपराध, अनलाइन दुव्र्यवहार, बालबालिकाको सुरक्षासँग सम्बन्धित जोखिम तथा समाधानका उपायबारे सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरेको उनको दाबी छ ।
कार्यक्रममा प्रविधिको उपयोग कसरी गर्ने र प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा नेपाल घरेलु तथा साना महासंघ मोरङ महिला उद्यम समिती निवर्तमान अध्यक्ष सुनिता छाराहाङले प्रस्तुती दिएकी थिइन् । उनले डिजिटल माध्यमबाट हुने साईवर अपराधको विषयमा विद्यार्थी एवम उपस्थितलाई यसका सकारात्मक तथा नकारात्मक असरको बारेमा जानकारी दिइन् ।

आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नेपालले पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर अपराधमार्फत लैंगिक हिंसा बढी देखिन थालेको भन्दै विद्यालयस्तरमै सचेतना अभियान अपरिहार्य भएको उल्लेख गरे । उनले बालवालिकालाई आजको डिजिटल युगमा प्रविधिको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमले विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका विधि सिकाउँदै लैंगिक हिंसा अन्त्यमा आफू–आफैँबाटै परिवर्तन सुरू गर्नुपर्छ भन्ने सन्देश दिएको आयोजकको भनाइ छ । विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।