विराटनगर । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनले सूचना जारी गर्दै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको सूचनाअनुसार यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिसकेकाले भारी वर्षा, बाढी र पहिरोका कारण सडक, पुल तथा राजमार्गमा क्षति पुग्न सक्ने र यातायात अवरुद्ध हुने जोखिम बढेको छ। सम्भावित विपद्बाट जनधनको क्षति कम गर्न तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रशासनले नागरिक, सवारी चालक, सवारी धनी तथा यात्रुहरूलाई यात्रा अघि सडकको अवस्था र आवागमन सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ। विशेष गरी मेची राजमार्ग, इलाम–बेलासे (मेची करिडोर) सडक तथा जिल्लाका अन्य ग्रामीण सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म काठ, गोलिया लगायतका सामग्री बोकेका ओभरलोड सवारी साधनलाई नियन्त्रित रूपमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। यस्तै खाद्यान्न, निर्माण सामग्री तथा दैनिक जीवनयापनका लागि आवश्यक वस्तु बोकेका सवारी साधनले सडकको अवस्था, सवारी साधनको क्षमता र यातायात सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
सूचनामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक साना तथा ठूला सवारी साधन, मालवाहक ट्रक तथा अन्य सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ। यद्यपि बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने अवस्था आएमा स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंद्वारा जारी सूचनामा मनसुन अवधिभर सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै सरोकारवाला निकाय, सवारी व्यवसायी र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
इलामसहित पूर्वी पहाडी जिल्लाहरूमा मनसुन सुरु भएसँगै पहिरो र सडक अवरोधका घटनाहरू बढ्ने जोखिम रहने भएकाले प्रशासनले पूर्वसतर्कताका रूपमा यो निर्णय गरेको जनाएको छ। प्रशासनको यो कदमले यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।