लोड हुँदैछ...

मेनु

इलाममा ७७ घरपरिवारलाई इन्डक्सन, ३० कृषकलाई चिया टिप्ने मेसिन वितरण

इलाममा ७७ घरपरिवारलाई इन्डक्सन, ३० कृषकलाई चिया टिप्ने मेसिन वितरण

इलाम । इलाम नगरपालिका–१ साँखेजुङमा स्थानीय बासिन्दा तथा चिया कृषकलाई लक्षित गर्दै आधुनिक उपकरण वितरण गरिएको छ। वडावासीको जनजीवन सहज बनाउने र परम्परागत चिया खेतीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले इन्डक्सन चुलो तथा चिया टिप्ने मेसिन वितरण गरिएको हो।

वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा ७७ जना वडावासीलाई इन्डक्सन चुलो तथा ३० जना पुराना चिया कृषकलाई चिया टिप्ने मेसिन वितरण गरिएको वडा अध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए।

उनका अनुसार वितरण गरिएका उपकरण संस्था, स्थानीय सरकार तथा उपभोक्ताको संयुक्त लागत सहभागितामा खरिद गरिएको हो। इन्डक्सन चुलो सहयात्रा नेपाल इलाम, इलाम नगरपालिका–१ वडा कार्यालय र उपभोक्ताको साझेदारीमा वितरण गरिएको हो भने चिया टिप्ने मेसिन इलाम नगरपालिका र मेट्पाको सहयोगमा उपलब्ध गराइएको हो।

कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले आधुनिक प्रविधिको प्रयोगले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनले चिया खेतीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यान्त्रिकीकरण आवश्यक रहेको उल्लेख गरे।

चिया टिप्ने मेसिन वितरणसँगै कृषकहरूको श्रम लागत घट्ने, उत्पादन प्रक्रिया छिटो हुने र समयमै चिया टिप्न सहज हुने अपेक्षा गरिएको छ। यस्तै, इन्डक्सन चुलोको प्रयोगले दाउरा तथा एलपी ग्यासमाथिको निर्भरता कम गरी स्वच्छ ऊर्जाको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नगर प्रवक्ता नूतनदेव दुलाल, सहयात्रा नेपाल इलामकी अध्यक्ष हेमकुमारी शिवा, कोषाध्यक्ष सविता पाण्डे, नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उपस्थितिमा सम्पन्न कार्यक्रममा आधुनिक प्रविधि र स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्दै स्थानीय जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।