लोड हुँदैछ...

मेनु

भारतीय अवरोधले नेपाली चिया उद्योग संकटमा, ५३ उद्योग बन्द हुने

भारतीय अवरोधले नेपाली चिया उद्योग संकटमा, ५३ उद्योग बन्द हुने

विराटनगर । भारतीय पक्षले नेपाली चिया निर्यातमा विभिन्न अवरोध खडा गरेपछि उत्पादनको मुख्य सिजनमै इलामका चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन्। इलामको सूर्योदय नगरपालिकास्थित ५३ वटा अर्थोडक्स चिया उद्योगले असार १ गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका हुन्।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जारी गरेको विज्ञप्तिअनुसार उत्पादित चिया बिक्री हुन नसक्दा किसानबाट खरिद गरिएको हरियो पत्तीको मूल्य भुक्तानी गर्न कठिन भएको र उद्योग सञ्चालन असम्भव बन्दै गएपछि कारखाना बन्द गर्नुपर्ने अवस्था आएको हो।

सूर्योदय नगरपालिकामा मात्रै दुई हजार ९ सय ९५ चिया किसान आबद्ध छन्। नगर क्षेत्रमा ३३ हजार ६ सय ५५ रोपनी जमिनमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक करिब दुई करोड किलो हरियो चिया पत्ती उत्पादन हुने गरेको छ। उद्योग बन्द हुँदा किसानको बगानमै चिया खेर जाने जोखिम बढेको छ।

उद्योगीहरूका अनुसार नेपाली भन्सार पार गरेर भारतको कोलकाता पुगेको दुई लाख किलोभन्दा बढी चिया त्यहाँका गोदाममा थन्किएको छ। बिक्री प्रक्रिया रोकिँदा गोदाम भाडा र अन्य खर्च बढेर उद्योगहरू थप आर्थिक संकटमा परेका छन्। यता नेपालभित्रका उद्योगहरूमा पनि १० लाख किलोभन्दा बढी तयारी चिया भण्डारण भइसकेको बताइएको छ।

नेपालमा अहिले ‘फर्स्ट फ्लस’ अर्थात् पहिलो टिपाइको चिया बिक्री हुने मुख्य सिजन चलिरहेको छ। तर भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अन्तर्गत प्रत्येक बोराको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था लागू भएपछि निर्यात प्रभावित भएको हो।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले निर्यात अवरुद्ध हुँदा उद्योगका भण्डार भरिएको र उत्पादन रोक्नुपर्ने अवस्था सिर्जना भएको बताए। महासचिव गोपाल कट्टेलले यसअघि पनि विभिन्न बहानामा अवरोध हुने गरे पनि बजारसम्म पुगिसकेको चिया रोकिएको अवस्था पहिलोपटक देखिएको बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको करिब ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ।

यसैबीच इलाम–२ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले नेपाली चिया क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

उनले चिया उद्योग बन्दको निर्णयले किसान, उद्योगी र श्रमिक सबैको जीवन प्रभावित हुने उल्लेख गर्दै चिया केवल नगदे बाली मात्र नभई हजारौं परिवारको जीविकोपार्जनको आधार भएको बताए।

“चियाको पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खँदैन। आजको ढिलाइले किसानको वर्षभरिको श्रम, उद्योगको लगानी र हजारौं श्रमिकको रोजगारी जोखिममा परेको छ,” नेम्वाङले बताएका छन्।

उद्योगीहरूले भारतीय अवरोध तत्काल हटाउन र निर्यात सहज बनाउन नेपाल सरकारले प्रभावकारी कूटनीतिक पहल नगरे चिया क्षेत्र थप गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।