विराटनगर । विराटनगर भन्सार नाकाबाट हुने व्यापारिक गतिविधिमा चालू आर्थिक वर्ष २०८२-८३ को ११ महिनासम्ममा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ । यद्यपि, आयातको तुलनामा निर्यात न्युन हुँदा व्यापार घाटाको चाप भने घट्न सकेको छैन । भन्सार कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार ११ महिनामा कुल १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको व्यापार असन्तुलन देखिएको छ ।
चालू आवको ११ महिनामा विराटनगर नाकाबाट कुल २ खर्ब २० अर्ब ८४ करोड ५४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । निर्याततर्फ पनि उत्साहजनक सुधार देखिएको छ । ११ महिनामा ७८ अर्ब ७५ करोड १५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो । व्यापार घाटा अचाक्ली बढेको भएपनि निर्यातको वृद्धिदरमा भने आयातको तुलनामा ५ प्रतिशतले सुधार देखिएको छ । यसलाई निर्याततर्फको प्रगतिमा सकारात्मक लिन सकिन्छ ।
राजस्व संकलनतर्फ भन्सारले ११ महिनामा ३७ अर्ब ७५ करोड ७९ लाख रुपैयाँको लक्ष्य राखेकोमा ८५.३८ प्रतिशत अर्थात् ३२ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । राजस्वको मुख्य हिस्सा मूल्य अभिवृद्धि करले ओगटेको छ । ११ महिनामा १७ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ मुअकर संकलन भएको छ भने भन्सार महसुल ११ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ उठेको छ ।
यस नाकाबाट ‘भटमासको कच्चा तेल’को आयात सबैभन्दा धेरै भएको छ । ११ महिनामा ४८ अर्ब २५ करोड मूल्य बराबरको कच्चा तेल आयात भएको छ, जसबाट मात्रै २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसबाहेक एचआर सिट, पोलिथिन दाना, एलपी ग्यास र कच्चा पाम तेलको आयातको हिस्सा बढी देखिएको छ ।
निकासीतर्फ पनि प्रशोधित भटमासको तेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ । ११ महिनामा ४४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ बराबरको प्रशोधित तेल निर्यात भएको छ । यसका साथै सेन्थेटिक यार्न, जुटका कपडा, बोरा र अन्य धागोको निर्यात पनि उत्साहजनक रहेको छ ।
चैतदेखि जेठसम्मको व्यापार
चैतमा नयाँ सरकार बनेपछि भन्सार क्षेत्रबाट हुने अनौपचारिक कारोबारलाई निरुत्साहित गर्ने र औपचारिक माध्यमबाट हुने व्यापारलाई प्रोत्साहन गर्ने नीति कडाइपूर्वक लागू गरिएको थियो । भन्सारबाट १०० रुपैयाँ भन्दा बढीको सामान ल्याउन नपाइने व्यवस्थालाई कडा गरिएको थियो । पछिल्लो तीन महिनाको राजश्व असुलिमा त्यसको सकारात्मक नतिजा देखिएको छ । यद्यपि व्यापारको अवस्थामा भने उत्तारचढाव नै देखिएको छ ।
चैत महिना राजस्व असुलीका हिसाबले सफल देखिए पनि वैशाख महिना सकारात्मक रहन सकेको देखिएन । चैतमा ३ अर्ब ५३ करोडको लक्ष्यमा १०१.३७ प्रतिशत प्रगतिसहित ३ अर्ब ५८ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो । यस महिना २२ अर्ब २३ करोडको आयात र ८ अर्ब ८१ करोडको निर्यात भएको थियो ।
वैशाखमा भने निर्यात २१ प्रतिशतले घटेर ६ अर्ब ९५ करोड ६४ लाखमा झर्दा राजस्व असुली पनि प्रभावित भई लक्ष्यको ८८.२३ प्रतिशत मात्र प्रगति भएको थियो । वैशाखमा ३ अर्ब ११ करोड ९४ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो । जेठ महिनामा भने आयातमा सुधार भई चालू वर्षकै सबैभन्दा धेरै २२ अर्ब ३९ करोड ६ लाख रुपैयाँ पुगेको छ । वैशाखको तुलनामा जेठको निर्यात पनि वृद्धि भएको छ । जेठमा ८ अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । तर राजस्व संकलन भने लक्ष्यको तुलनामा ८३.४२ प्रतिशत मात्र भएको छ । जेठमा ३ अर्ब ९४ करोड ४२ लाखको लक्ष्य राखिएकोमा ३ अर्ब २९ करोड २ लाख रुपैयाँ मात्र असुली भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष भन्सार राजस्व र व्यापारमा भने सुधार देखिएको छ । जेठ महिनामा मात्रै भटमासको कच्चा तेल ५ अर्ब ७७ करोडको आयात हुँदा राजस्वमा उल्लेख्य प्रगति भएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।