लोड हुँदैछ...

मेनु

तीन वर्षदेखि निर्माणाधीन एशियन हाइवेमा डुबान, यात्रुलाई सास्ती

तीन वर्षदेखि निर्माणाधीन एशियन हाइवेमा डुबान, यात्रुलाई सास्ती

विराटनगर । निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत एशियन हाइवेको झापा खण्ड सम्पन्न हुन सकेको छैन।

मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै सामान्य वर्षामै सडकका विभिन्न भाग जलमग्न हुन थालेपछि निर्माणको गुणस्तर, ठेकेदार कम्पनीको कार्यशैली र सरकारी अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ।

मेचीनगरदेखि बिर्तामोडसम्मका विभिन्न खण्डमा निर्माणको क्रममा अलपत्र पारिएको सडकमा वर्षाको पानी जम्न थालेको छ। अधुरो नाली, अव्यवस्थित पानी निकास र वर्षौंदेखि भत्काएर छाडिएको सडकका कारण यात्रु, व्यवसायी र स्थानीयवासीले सास्ती भोग्न थालेका छन्।

राष्ट्रिय महत्वको यो सडक निर्माण कम्पनीको ढिलासुस्ती, कमजोर व्यवस्थापन र सरकारी निकायको फितलो अनुगमनका कारण सम्पन्न हुन सकेको छैन। दैनिक हजारौं सवारीसाधन गुड्ने सडकको अवस्था जटिल बन्दै जाँदा यात्रु सुरक्षामाथि समेत प्रश्न उठ्न थालेको छ।

कतिपय स्थानमा सडकभन्दा छेउको भाग अग्लो वा होचो बनाइएकाले पानीको प्राकृतिक बहाव रोकिएको छ। निर्माण कम्पनीले समयमै नाली तथा निकास संरचना नबनाउँदा सामान्य वर्षामै सडक हिलाम्मे र जलमग्न बन्न थालेको हो।

सडक प्रयोगकर्ताले निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको आरोप लगाएका छन्। एउटा लेन पूर्ण निर्माण सम्पन्न गरेपछि मात्र अर्को लेनमा काम सुरु गर्नुपर्ने प्रावधान भएपनि दुवैतर्फको सडक एकैपटक भत्काएर लामो समयदेखि अधुरै छाडिएको छ।

यसका कारण सडक साँघुरिएको छ भने सवारीसाधन पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। ओभरटेकका क्रममा दुर्घटनाको जोखिम बढेको छ भने रातिको समयमा पर्याप्त संकेतचिन्ह र सुरक्षा व्यवस्थाको अभावले जोखिम झन् बढाएको यात्रुहरूको गुनासो छ।

निर्माणस्थलका धेरै भागमा ग्राभेल हालेर छाडिएको छ भने कतै गहिरा खाल्डा बनाइएका छन्। वर्षा हुँदा ती खाल्डामा पानी जम्ने र साना सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढ्ने गरेको स्थानीय बताउँछन्।

यो समस्या नयाँ भने होइन। विगतका वर्षहरूमा पनि निर्माणाधीन सडकका अस्थायी डाइभर्सन खोल्सा र खोलाको बाढीले बगाउँदा पूर्वी नेपालको यातायात घण्टौं अवरुद्ध भएको थियो। एम्बुलेन्स, इन्धन, खाद्यान्न तथा औद्योगिक सामग्री बोकेका सवारी लामो समयसम्म रोकिएका घटनाहरू पटक–पटक दोहोरिएका थिए।

यस वर्ष त्यस्ता समस्या दोहोरिन नदिन पूर्वतयारी गरिनुपर्ने भए पनि निर्माणस्थलको अवस्था हेर्दा पर्याप्त तयारी नदेखिएको स्थानीयको भनाइ छ। धेरै स्थानमा डाइभर्सन अझै कमजोर छन् भने पानी निकास व्यवस्थापन अधुरै छ।

पूर्व–पश्चिम राजमार्ग नेपालको सबैभन्दा व्यस्त सडक सञ्जालमध्ये एक हो। झापा, मोरङ, सुनसरी हुँदै पहाडी जिल्लासम्म पुग्ने यात्रु तथा मालवाहक सवारीको मुख्य मार्ग यही भएकाले निर्माणको ढिलाइले आर्थिक गतिविधिमा समेत असर पारेको छ।

व्यवसायीहरूका अनुसार जाम, धुलो, हिलो र खराब सडकका कारण ढुवानी लागत बढेको छ। इन्धन खपत र सवारी मर्मत खर्च बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ। एम्बुलेन्स सेवा प्रभावित हुँदा बिरामीलाई समयमै उपचार केन्द्रसम्म पुर्‍याउन समेत कठिनाइ भएको छ।

स्थानीयवासीले निर्माण कम्पनीको गैरजिम्मेवारीसँगै सरकारी निकायको अनुगमनमाथि पनि प्रश्न उठाएका छन्। तीन वर्षसम्म पनि आयोजना सम्पन्न गराउन नसक्नु ठेकेदार मात्र नभई आयोजना व्यवस्थापन र अनुगमन संयन्त्रको समेत असफलता भएको उनीहरूको टिप्पणी छ।

पूर्वाधार विज्ञहरूका अनुसार राष्ट्रिय महत्वका यस्ता आयोजनामा नियमित अनुगमन, सम्झौताअनुसार काम नभए दण्डात्मक व्यवस्था तथा समयमै निर्णय नहुँदा निर्माण कार्य लम्बिने समस्या देशभर देखिएको छ। झापाको एशियन हाइवे त्यसैको एउटा उदाहरण बनेको उनीहरूको भनाइ छ।

अहिले नै सामान्य वर्षामा सडकका केही भाग डुबानमा पर्न थालेकाले मनसुन सक्रिय भएपछि अवस्था अझ जटिल बन्न सक्ने देखिएको छ। पानी जम्ने, सडक भासिने, डाइभर्सन बग्ने र लामो समय यातायात अवरुद्ध हुने जोखिम बढ्दै गएको छ।

निर्माणको गति तीव्र पार्न, पानी निकासको व्यवस्था मिलाउन र वर्षायाम लक्षित सुरक्षा व्यवस्थापन तत्काल लागू गर्न नसकिए पूर्व–पश्चिम राजमार्गको झापा खण्ड फेरि पनि यात्रुका लागि सास्ती र जोखिमको पर्याय बन्ने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।