लोड हुँदैछ...

मेनु

रिलायन्सले मंसिर २२ गतेदेखि आइपीओ जारी गर्ने

रिलायन्सले मंसिर २२ गतेदेखि आइपीओ जारी गर्ने

विराटनगर । सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आगामी मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् १ लाख ५ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न तयारी गरेको हो ।

विदेशमा कार्यरत नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । शेयर निष्कासन अवधि छिटोमा मंसिर २५ गते बन्द हुनेछ भने सो अवधिभित्र पूरा आवेदन नपरेमा अवधि पुस ७ गतेसम्म लम्बिन सक्छ ।

आईपीओको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भएपनि मूल्य निर्धारणका आधारमा लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आवेदन दिनुपर्नेछ । यसअघि बोलकबोल (बुक बिल्डिङं) प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा आम लगानीकर्ताका लागि मूल्य ८२०.८० कायम गरिएको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट वा ‘मेरो शेयर’ सिस्टममार्फत अनलाइन आवेदन दिन सक्नेछन्। ग्लोबल आइएमई क्यापिटल कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हो ।

केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई सिंगल ए माइनस रेटिङ प्रदान गरेको छ । जसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त क्षमता भएको संकेत गर्छ।

रोजगारदाता उद्योगमध्ये एक महत्वपूर्ण ठाने जाने रिलायन्स स्पिनिङ मिल्सले आफ्नो ७०–७५ प्रतिशत उत्पादन भारत, टर्की, भियतनाम, यूकेलगायतका मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन्।

कम्पनीका मुख्य उद्योग इकाइहरू सुनसरीको ईटहरी नगरपालिका–१२, खनार (इकाई) र ईटहरी नगरपालिका–४, दुहबी (इकाई) मा अवस्थित छन्। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।