विराटनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले सीप परीक्षण (स्किल टेस्ट) गरेर जनशक्तिलाई प्रमाणीकरण गर्न थालेको ४४ वर्ष पूरा भइसकेको छ । वि.सं. २०३८ सालदेखि सुरु भएको यो प्रक्रियामार्फत विभिन्न ३१४ विधाबाट हालसम्म ५ लाख २३ हजार ७३८ जनाले सीपको प्रमाणपत्र लिइसकेका छन् । तर, विडम्बना यो ठूलो संख्यामा रहेका दक्ष जनशक्ति अहिले कहाँ छन् ? कुन अवस्थामा छन् ? भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन ।
दक्ष जनशक्तिको तथ्याङ्क व्यवस्थित नहुँदा एकातिर सीप सिकेका युवाहरु कामको खोजीमा भौंतारिनुपर्ने र अर्कोतिर स्वदेशी उद्योगी–व्यवसायीले खोजेको बेला दक्ष कामदार नपाउने अवस्था छ ।
नेपाल व्यावसायिक योग्यता प्रणाली (एनभिक्यूएस) परियोजना र सरोकारवालाहरु बीच बिहीबार उद्योग संगठन मोरङमा भएको छलफलमा परियोजनाका अधिकारीहरुले तथ्याङ्कको अभाव रहेको बताए । सुनकोशी हाइड्रोपावरबाट २०३८ सालमा सुरु भएको सीप परीक्षणको यात्रा यहाँसम्म आइपुग्दा लाखौं युवा प्रमाणीकरण भइसकेका छन् । तर, प्रमाणपत्र हातमा लिएपछि ती व्यक्तिहरु नेपालमै रोजगार छन्, बेरोजगार छन् वा विदेश पलायन भए भन्नेबारे कुनै ‘ट्र्याकिङ सिस्टम’ छैन ।
उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले भने, ‘हामीले ५ लाख २३ हजार जनशक्ति त उत्पादन गर्यौं, तर अहिले उनीहरु कहाँ छन् भन्ने डाटा हामीसँग भएन । बिजुलीको चिम बलेजस्तै पास वा फेलको नतिजा दिन्छौँ, त्यसपछि उनीहरु हाम्रो रडारबाट हराउँछन् ।’
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरुले आफूहरुलाई दक्ष जनशक्तिको चरम अभाव रहेको गुनासो गरे । प्रमाणपत्र पाएका व्यक्तिहरुको विवरण उद्योगीहरुको पहुँचमा नहुँदा यो समस्या आएको उनीहरुको बुझाइ छ । ‘तपाईंहरुले तालिम दिनुभयो, प्रमाणपत्र दिनुभयो तर ती मान्छे कहाँ छन् हामीलाई थाहा छैन,’ उद्योग संगठन मोरङका अर्का बरिष्ठ उपाध्यक्ष सुरेन्द्र गोल्छाले भने, ‘अहिलेको जमानामा एक–एक जनालाई फोन गरेर साध्य हुँदैन । हामीलाई कामका लागि मान्छे चाहिएको छ, तर सीप भएका मान्छे कहाँ छन् भन्ने पत्तो छैन ।’
पर्यटन तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीले पनि दक्ष जनशक्तिको ‘ब्रान्डिङ’ नहुँदा समस्या परेको बताउँछन् । ‘यदि सिटिइभिटीले प्रमाणित गरेका लेभल १ वा लेभल २ का गाइडहरु यहाँ छन् है भनेर हामीले थाहा पाउने हो भने, हामी उनीहरुलाई नै रोजगारी दिन्छौँ । यसले उनीहरुको आत्मविश्वास पनि बढ्छ र उद्योगले पनि गुणस्तरीय सेवा दिन सक्छ,’ उद्योगी प्रतिक राउतले भने ।
उद्योगीहरुले सिटिइभिटीको डाटाबेसलाई रोजगारदातासँग जोड्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले सीप परीक्षण पास भएका व्यक्तिहरुको सूचीमा उनीहरु ‘कामका लागि उपलब्ध छन् वा छैनन्’ भन्ने जानकारीसहितको व्यवस्था गर्न माग गरेका हुन् । ‘उनीहरुको नाम, पेशा र फोन नम्बरसहितको विवरण एउटा पोर्टलमा राखिदिने हो भने हामी आफैं सम्पर्क गर्छौं,’ उद्योग संगठन मोरङका कार्यकारि निर्देशक चुँडामणि भट्टराईले भने, ‘उनीहरु बेरोजगार छन् भने हामी रोजगारी दिन्छौँ, यदि विदेश गइसकेका छन् भने सोही अनुसारको जानकारी अपडेट हुनुपर्यो ।’
एनभिक्यूएस कोशीका संयोजक सुवास घिमिरेले पछिल्लो समय प्रविधिको प्रयोग गरेर डाटाबेसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए । सो परियोजनाले गत वर्ष सुनसरीका विभिन्न शहरमा १ लाख ६५ हजार एसएमएस पठाएर सीप परीक्षणका लागि आव्हान गरेको थियो । तर, करिब २०० जना मात्र सम्पर्कमा आएको उदाहरण दिँदै उनले सञ्चार र समन्वयमा अझै काम गर्नुपर्ने देखिएको बताए ।
अनौपचारिक रूपमा सीप सिकेका व्यक्तिहरुलाई मूलधारमा ल्याउन ल्याइएको सीप परीक्षण प्रणाली आफैंमा प्रभावकारी भए पनि, प्रमाणपत्र र बजारबीचको पुल बन्न नसक्दा राज्यको लगानी बालुवामा पानी जस्तै भएको मजदुर नेता मोहमद उपेन्द्र राय बताउँछन् । ‘स्थानीय तह र उद्योग वाणिज्य संघहरुसँग समन्वय गरी दक्ष जनशक्तिको अद्यावधिक तथ्याङ्क राख्न सके मात्र सिटिइभिटीको ४४ वर्षको मिहिनेतले सार्थकता पाउने देखिन्छ,’ रायले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।