विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको प्रमुख आयस्रोतको रूपमा रहेको लोहोन्द्रा खोलाको नदीजन्य पदार्थ उत्खनन् तथा संकलनको ठेक्का अन्ततः लागेको छ । लामो समयदेखि राजनीतिक विवाद र किचलोका कारण रोकिएको ठेक्का प्रक्रिया गाउँपालिकाले आज फेसबुक लाइभमार्फत पारदर्शी रूपमा सम्पन्न गरेको हो ।
गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीको उपस्थितिमा खोलिएको शिलबन्दी बोलपत्र अनुसार इटहरी–१७ को ‘जय कल्याण निर्माण सेवा’ले ठेक्का पारेको छ । गाउँपालिकाले न्युनतम १ करोड २२ लाख रुपैयाँमा ठेक्का आह्वान गरेकोमा निर्माण सेवाले १ करोड ३७ लाख ९२ हजार २ सय १५ रुपैयाँ कबोल गर्दै ठेक्का हात पारेको हो । यो रकम गाउँपालिकाले तोकेको न्युनतम अंकभन्दा करिब १५ लाख रुपैयाँ बढी हो ।
ठेक्का खोल्ने कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नमो नारायण माझीले लामो समयको अन्तराल र ठूलो रस्साकस्सीपछि ठेक्का लगाउन सफल भएको बताए । उनले ठेक्का प्रक्रियामा भएको ढिलाइप्रति गाउँपालिकाबासीसँग सार्वजनिक रूपमा माफी मागेका छन् ।
“अशोज २ गते नै खोलाको ठेक्का लगाउने प्रतिबद्धता जाहेर गर्दागर्दै पनि यहाँको राजनीतिक किचलो र जनप्रतिनिधिहरूकै आपसी मतभेदले गर्दा ढिला हुन गयो,” अध्यक्ष माझीले भने, “यसका लागि म समस्त ग्रामथानबासीसँग क्षमाप्रार्थी छु ।” उनले अब एक सातापछि खोलाबाट विधिवत रूपमा उत्खनन् सुरु हुने जानकारी दिए ।
अध्यक्ष माझीले खोला ठेक्का नलाग्दा दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न वर्ग सबैभन्दा बढी मर्कामा परेको स्मरण गरे । उनका अनुसार विशेषगरी ग्रामथानको वडा नम्बर ४, ६ र ७ का करिब ५ देखि ६ सय मजदुरहरू लोहोन्द्रा खोलामा आश्रित भएर जीविकोपार्जन गर्दै आएका छन् ।
“खोला बन्द हुँदा उहाँहरूको रोजगारी गुमेको थियो, अब एक सातापछि उहाँहरूको रोजगारी पुनः खुल्नेछ,” अध्यक्ष माझीले भने, “तपाईंहरूको धैर्यताले नै आज गाउँपालिकाको विकासको बाटो खुलेको छ ।”
लोहोन्द्रा खोला ग्रामथान गाउँपालिकाको सबैभन्दा बढी राजस्व संकलन हुने स्रोत हो । अध्यक्ष माझीले निर्माण व्यवसायीलाई बधाई दिँदै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको पूर्ण पालना गरेर मात्र उत्खनन् गर्न निर्देशन दिए । उनले भने, “तोकिएको मापदण्ड र स्टिमेट अनुसार ढुंगा–गिट्टी उत्खनन् गर्नुहोला, कुनै बाधा अवरोध आए गाउँपालिकाले सहजीकरण गर्नेछ ।”
१५ दिने सूचना जारी गरेर खोलिएको उक्त ठेक्का प्रक्रियामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडा सदस्य तथा निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।