लोड हुँदैछ...

मेनु

गएको साताभरी बढेको नेप्से २६ अंकले घट्यो

गएको साताभरी बढेको नेप्से २६ अंकले घट्यो

विराटनगर । गत साता पाँचै दिन लगातार बढेको नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेको छ।

गत सातामा ११५ अंक जोडेको नेप्सेले आइतबार २६‍‍.५१ अंकले गुमाएर २६४९ विन्दुमा झरेको छ ।

केही दिनदेखि नेप्सेले २६५० देखि २६८० को विन्दुमा प्रतिरोध सामना गरिरहेको थियो। गत साताको अन्तिम तीन दिनदेखि बजार यो विन्दुमा प्रतिरोध परिक्षण गरिरहेको थियो । अन्ततः नेप्से २६९४ विन्दुसम्म पुगेर घटेको हो ।

केही समयदेखि उच्च रकमको कारोबार भइरहेको कम्पनीहरूको लाभांश समायोजन भइसकेकोले ती कम्पनीको मूल्यसमेत घट्न थालेको छ । यसले पनि बजारलाई घटाउन सहयोग पुगेको हो । बजारमा बिक्री बढ्दा कारोबार रकम भने बढेको छ ।

बिहीबार ६ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ७ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको हो । यस दिन उत्पादनमूलक र सामूहिक लगानी कोष समूहमा मात्रै वृद्धि भएको छ ।

कारोबारमा आएका ३४२ स्टकमध्ये ८९ वटाको मूल्य बढेको छ भने २४३ वटाको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि पाँच स्टकमा सर्किट ब्रेक लागेको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्री नगर एग्रिटेकको सेयर र ६ प्रतिशत ब्याज दिने निफ्रा ग्रिन इनर्जी डिवेञ्चरको मूल्य करिब १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।

यस दिन १० प्रतिशत ब्याजदर भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रको सेयर मूल्य सबैभन्दा धेरै ८.९९ प्रतिशतले घटेको छ।

यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा हिमालयन रि इन्सुरेन्स कम्पनी छ । कम्पनीको करिब २३ करोड रूपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।