विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ सय दरका नयाँ नोट औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा चुच्चे नक्सा भएको नयाँ नोट सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार संकेत नम्बर ‘क–२०–०००००१’ देखि ‘घ–४०–९९९९९९’ सम्मका नयाँ नोट बजारमा पठाइएका छन्। यसअघि २०७६ असोज ७ गतेदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याइएका थिए ।
त्यसबेला संकेत नम्बर ‘ओ–१८–०००००१’ देखि ‘क–१९०३४५००’ सम्मका नोट प्रचलनमा ल्याइएको थियो । नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लागीगुराँसको पानी छाप, नेपालको चुच्चे नक्सा, अशोक स्तम्भ र मायादेवीको चित्र राखिएको छ ।
दृष्टिविहीनका लागि छामेर पहिचान गर्न मिल्ने थोप्लो, रंग परिवर्तन हुने सुरक्षण धागो तथा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत पनि समावेश छ । पछाडिको भागमा नेपाल राष्ट्र बैंकको नाम, एक सिंगे गैँडाको माउ र बच्चाको चित्र, ‘रुपैयाँ एक सय’ तथा सन् २०२४ अंकित गरिएको उल्लेख छ ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको निर्णयले २०८१ वैशाख २० गते १०० को नोटमा चुच्चे नक्सा राख्ने घोषणा गरेको थियो । त्यहि नोट बजारमा आएको हो । यो नोट चीनमा छापिएको हो । गत वर्षको दशैंमै चुच्चे नक्सासहितको नोट प्रचलनमा ल्याउने तयारी रहेपनि केहि ढिलो गरि बजारमा पठाएको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!