विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखराबिच खेल हुँदैछ ।
त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ भने अपरान्ह ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
शीर्ष स्थानमा रहेको सुदूरपश्चिम अपराजित छ। उसले तीनै खेलमा जित निकालेको छ। तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ। त्यसैले उसलाई आजको खेल जित्नै पर्ने दबाब पनि छ । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले र तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीचको खेल पनि रोचक हुने छ । पोखराले पनि आज तेस्रो खेल खेल्दै छ। दुई खेलमा जितविहीन रहेको पोखरा र अंक तालिकामा उपस्थिति जनाउन नसकेको जनकपुर दुवैले जितका लागि प्रयास गर्नेछन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!