विगराटनगर । हुलाकी राजमार्गअन्तर्गत झापा र गौरीगञ्ज जोड्ने कन्काई नदीको पुल १४ वर्ष बित्दासमेत निर्माण सम्पन्न नभएपछि अन्ततः ठेक्का तोडिएको छ । सडक विभाग अन्तर्गतको योजना कार्यालय इटहरीले बिहीबार सूचना जारी गर्दै निर्माण कम्पनी ‘पप्पु महादेव खिम्ती जेभी’ सँगको ठेक्का सम्झौता अन्त्य गरेको हो ।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो यो पुल बनाउन २०६८ जेठ ३१ गते सम्झौता भएको थियो । २०७२ जेठ ३० भित्रै सक्नुपर्ने ३४ करोड ९ लाख रुपैयाँ लागतको यो आयोजनामा पाँचपटक म्याद थप्दा पनि जम्मा ५६ प्रतिशत मात्र काम भएको छ ।
काम अलपत्र पारेपछि योजना कार्यालयले ठेक्का तोड्दै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गर्ने निर्णय गरेको छ । साथै, बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह ठेकेदारबाटै असुल उपर गरिने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको कार्यालय प्रमुख युवराज पोखरेलले जनाएका छन् ।
गत असोज ३१ गते कार्यालयले ‘ठेक्का किन नतोड्ने रु’ भनी १५ दिने स्पष्टीकरण सोधेको थियो । तर, निर्माण व्यवसायीले चित्तबुझ्दो जवाफ नदिएको, काम सक्ने भरपर्दो कार्यतालिका पेस नगरेको र स्रोत परिचालनमा बेवास्ता गरेकाले सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का रद्द गरिएको हो ।
केही समयअघि मन्त्री कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण गर्दै काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका थिए । पुलका १९ स्पानमध्ये हालसम्म ८ वटा मात्र सकिएका छन् भने ६ वटाको जग हाल्न बाँकी र निर्माणाधीन अवस्थामै काम ठप्प थियो ।
निर्माण व्यवसायीलाई अबको १५ दिनभित्र हिसाब मिलान (फरफारक) का लागि कार्यालयमा उपस्थित हुन भनिएको छ ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!