यसरी बन्दैछ १०६३ मेघावाटको माथिल्लो अरुण विद्युत आयोजना

यसरी बन्दैछ १०६३ मेघावाटको माथिल्लो अरुण विद्युत आयोजना

विराटनगर । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको मोडालिटी टुंगो लागेको छ ।

नेपाल विद्युत प्राधिकरणको अगुवाइमा निर्माण हुने आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको छ ।

अपर अरुणमा लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइनेछ । ३० प्रतिशत इक्विटीलाई शत्प्रतिशत मानी त्यसको ५१ प्रतिशत संस्थापन र ४९ प्रतिशत साधारण शेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक शेयरधनीबाट ३६ अर्ब ६७ करोड र साधारण शेयरधनीबाट ३५ अर्ब २३ करोड रुपैयाँ उठाइने तयारी छ ।

यस्तै, ५१ प्रतिशत संस्थापक शेयरधनीमा प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, बीमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरू रहने प्रस्ताव गरिएको छ । ४९ प्रतिशत साधारण शेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैह्र आवासीय नेपाली, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, आयोजना प्रभावित र आम सर्वसाधारण रहने व्यवस्था गरिएको छ ।

आयोजना निर्माणका लागि अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड संस्थापन भइसकेको छ । आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत १ खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुनेछ । विश्व बैंकको लगानी अन्योलमा परेपछि सरकारले देशभित्रका बैंक तथा वित्तीय संस्थाहरू र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमा अपर अरुणलाई अगाडि बढाउन लागेको हो ।

आयोजनामा सहवित्तीयकरणमार्फत करिब ५३ अर्ब रुपैयाँ लगानीका लागि प्राधिकरण, आयोजनाको प्रवद्र्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच समझदारी भइसकेको छ । आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ ।

भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमीटर पहुँच सडक निर्माण भइरहेको छ । भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं. २ चेपुवा गाउँनजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ ।

अहिले छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरुण नदीमा स्टीलको ७० मिटर लामो आर्क पुल निर्माण गरिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएकोले अबै निर्माणको काम अगाडि बढ्नेछ । लगानीको लागि नेपाल विद्युत प्राधिकरणको सेयर निश्कासन गर्ने र ऊर्जा बण्ड जारी गर्ने उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्