इटहरी । सुनसरीमा अति विपन्न तथा भूमिहीन परिवारका लागि निर्माण गरिएका एक सय वटा नयाँ सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।
गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा आयोजित विशेष समारोहमार्फत घरहरू लाभग्राही परिवारलाई बुझाइएको हो ।
ग्रामीण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) ले अन्तर्राष्ट्रिय दातृ संस्था चूजी बुद्धिष्ट फाउन्डेसनको आर्थिक सहयोगमा घरहरु निर्माण गरेको हो । सुनसरीका दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा क्षेत्रमा रहेका गरिब, विपन्न, दलित तथा मुसहर समुदायका भूमिहीन परिवारका लागि यी आवास निर्माण गरेको संस्थाले जनाएको छ ।
२०७८ कार्तिक १६ गते शिलान्यास गरिएको सुरक्षित आवास परियोजनाअन्तर्गत दुहबीमा १४, गढी–२ मा ४०, बर्जुका १, ३ र ५ नं. वडामा ३० र इनरुवा–७ मा १६ गरी कुल १०० घर निर्माण गरिएको छ । भूकम्प–प्रतिरोधी संरचनामा २ शयनकक्ष, १ भान्सा, १ शौचालय र खानेपानीका लागि हातेधारा सहितका तीन कोठे आवास तयार गरिएको परियोजनाले जनाएको छ।
घर हस्तान्तरणसँगै प्रत्येक परिवारलाई २ वटा ब्लाङ्केट, १ बोरा चामल, ५ लिटर तेलसहित खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गरिएको थियो। यसले विपन्न परिवारको दैनिकी सहज बनाउन ठूलो सहयोग पुगेको स्थानीयले उल्लेख गरे ।
फरवार्डकी संस्थापक भगवती चौधरी र चूजी बुद्धिष्ट फाउन्डेसनका उपसभापति लिन पी यूले ४० परिवारलाई घरसँगै राहत सामग्री हस्तान्तरण गरेका छन् । चौधरीले यो अभियान विकास मात्र नभई मानव–अधिकार र सम्मानसँग जोडिएको महत्वपूर्ण पहल भएको बताउँदै आगामी दिनमा पनि गरिब तथा विपन्न परिवारको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
गढी गाउँपालिका–२ कोलर्हवा सामुदायिक ग्राममा सम्पन्न घर हस्तान्तरण कार्यक्रम स्थानीयले खुसी व्यक्त गरेकाक थिए । परियोजनाबाट विपन्न, दलित, मुसहर तथा भूमिहीन परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको फरवार्ड नेपालले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।