काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलमा प्रतियोगिताकै सर्वाधिक लयमा देखिएको विराटनगर किङ्स र कागजी रूपमा बलियो मानिएको चितवन राइनोजबीच रोमाञ्चक भिडन्त हुँदैछ।
विराटनगर आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा छ भने चितवन स्टार खेलाडीहरूको लय फर्काउँदै प्रतियोगितामा पकड जमाउने प्रयासमा हुनेछ।
जारी प्रतियोगितामा विराटनगर किङ्सले खेलेका तीनवटै खेलमा जित हासिल गर्दै आफूलाई उपाधिको प्रबल दाबेदारका रूपमा उभ्याएको छ। विराटनगरको मुख्य शक्ति उसको ब्याटिङको ‘टप अर्डर’ हो। लोकेश बम, जज मुन्सी र मार्टिन गुप्टिलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। बलिङतर्फ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नरेन भट्ट र प्रतिश जिसीले कसिलो बलिङ गर्दै विपक्षीलाई दबाबमा राखेका छन्।
टोलीको मध्यक्रम (मिडल अर्डर) ले भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको छैन। शुभम रन्जनले राम्रो संकेत देखाए पनि मध्यक्रमका अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन बाँकी छ।
अनुभवी खेलाडीहरूले भरिएको चितवन राइनोजले सोचे अनुसारको नतिजा निकाल्न संघर्ष गरिरहेको छ। टोली विदेशी खेलाडीमा बढी निर्भर देखिएको छ। रवि बोपाराले राम्रो खेल देखाइरहे पनि डेबिड मलान जस्ता विश्वस्तरीय ब्याट्सम्यान चल्न सकेका छैनन्। मलानले आजको खेलमा राम्रो सुरुवात दिनु चितवनका लागि अनिवार्य जस्तै छ।
कप्तान कुशल मल्ल र देव खनाल जस्ता नेपाली स्टारहरूले जिम्मेवारीपूर्ण इनिङ खेल्न सकेका छैनन्। विश्लेषक सुमित तिमल्सिनाका अनुसार टोलीलाई सन्तुलित बनाउन नेपाली खेलाडीले अझ सशक्त प्रदर्शन गर्नुपर्ने देखिन्छ।
आजको खेलमा सबैको आँखा विराटनगरका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल र चितवनका कप्तान कुशल मल्लबीचको प्रतिस्पर्धामा हुनेछ। गुप्टिल ‘लेफ्ट आर्म स्पिन’ (बायाँ हाते स्पिनर)विरुद्ध केही कमजोर देखिन्छन्। कुशल मल्लले यसअघि पनि गुप्टिलको विकेट लिइसकेका छन्। तसर्थ, पावर प्लेमै कुशल मल्लले बलिङ गर्दै गुप्टिललाई रोक्न सकेको खण्डमा विराटनगरको बलियो टप अर्डर दबाबमा आउन सक्छ। यो नै खेलको ‘टर्निङ पोइन्ट’ बन्न सक्छ।
हालको प्रदर्शन र लयलाई हेर्दा विराटनगर किङ्सको पल्ला भारी देखिन्छ। तर, चितवन राइनोज ‘अन पेपर’ निकै बलियो टिम हो र क्रिकेट अनिश्चितताको खेल भएकाले चितवनले अप्रत्याशित नतिजा निकाल्दै विराटनगरको विजय रथ रोक्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। आजको खेल केवल दुई टिमको मात्र नभई विराटनगरको ‘टप अर्डर’ र चितवनको ‘रणनीति’ बीचको लडाइँ हुनेछ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!