विराटनगर । मंगलबार शेयर बजार नेप्से परिसूचक सामान्य अंक बढ्दै सकारात्मक रूपमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढ्दै आएको बजारले यस दिन पनि उही क्रम कायम राखेको हो ।
मंगलबार नेप्से परिसूचक ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक, फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले वृद्धि भएको छ ।
तर, नेप्से उक्लिए पनि बजारमा कुल कारोबार रकम भने घटेको छ। सोमबार ७ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको बजारमा यस दिन ३१९ स्टकको १ लाख २ हजार ६४२ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर खरिद–बिक्री भयो।
यस दिन झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजका शेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भए। त्यस्तै स्वस्तिक लघुवित्तको शेयर ८ प्रतिशतभन्दा बढी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर ७ प्रतिशतभन्दा बढी बढ्यो। भने जोशी हाइड्रोपावरको शेयर ४.९६ प्रतिशत घट्दै दिनभरमा सबैभन्दा धेरै ओरालो लाग्यो।
कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँभन्दा बढी बराबरको कारोबार भयो। त्यसपछि हिमालयन रि इन्स्योरेन्सको २४ करोड रुपैयाँभन्दा बढी र ङादी ग्रुप पावरको कारोबार २० करोड रुपैयाँ नाघ्यो।
मंगलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढ्यो भने ४ उपसमूह घटे। होटल तथा पर्यटन उपसमूह १.४० प्रतिशतको सर्वाधिक वृद्धि गरेको छ। उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढी उक्लियो। उता, व्यापार उपसमूह १.३३ प्रतिशतले ओरालो लागेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।