विराटनगर । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोशी नदीमाथिको बंशिलाघाटमा पुल नहुँदा स्थानीय र व्यापारीहरूले भोग्नुपरेको सास्ती अकल्पनीय छ । काठ व्यापारी विकेन्द्र बस्नेतका अनुसार खोटाङबाट उदयपुरतर्फ काठ लैजानु युद्ध जिते बराबर छ । उनी भन्छन्, ‘पुल नहुँदा हाम्रो प्रतिट्रक ३० हजार रुपैयाँ अतिरिक्त खर्च हुन्छ ।’
काठ तार्ने प्रक्रिया निकै जोखिमपूर्ण र श्रममा आधारित छ । मजदुर गंगाबहादुर खड्का भन्छन्, ‘पहिले मुढालाई डोरीले बाँध्छौँ, अनि अर्को लामो डोरीले तानेर नदी पार गराउँछौँ ।’ एक ट्रक काठ नदी पार गराउन २५ जना मजदुर दिनभरि खटिनुपर्छ । पुल भएको भए यो खर्च र समय दुवै बच्ने थियो, तर वर्षौंदेखि उनीहरूको नियति यही बनेको छ । व्यापारी बस्नेत भन्छन्, ‘यो पुल नहुँदाको अतिरिक्त खर्चले हामीलाई थला पारेको छ । हामीले प्रक्रिया पुर्याएरै काठ विराटनगरसम्म लैजान्छौँ, तर यो घाटमा आइपुगेपछि हरेक दिन पीडा हुन्छ ।’
संघीय सरकारको पुल महाशाखा अन्तर्गत रहेको यो पुलको ठेक्का २०७७ साल पुस २८ गते लागेको थियो । पुल शाखा धरानका सूचना अधिकारी नविनकुमार साहका अनुसार १९ करोड १८ लाख रुपैयाँ लागतको यो पुलको निर्माण अवधि ३३ महिना तोकिएको थियो । तर, ६ वर्ष बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन । हालसम्म दुई पटक म्याद थप भइसकेको छ । २०८३ वैशाख १९ सम्मको दोस्रो पटकको म्याद पनि यतिकै गुज्रने हो कि भन्ने डर स्थानीयमा छ ।

निर्माण कम्पनी कालिका बेदाङ्सीका सञ्चालक निकोलस पाण्डे बजेट अभावलाई प्रमुख कारण मान्छन् । उनले भने, ‘१९ करोडको आयोजनामा २ करोड बजेट दिएर कसरी काम हुन्छ ? हामीले काम गर्छौं, तर भुक्तानीको सुनिश्चितता हुँदैन ।’ उनका अनुसार अहिलेसम्म करिब डेढ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ । ‘यदि बजेटको सुनिश्चित हुने हो भने ६०–७० प्रतिशत काम यही वर्ष हामी गर्न सक्छौं,’ पाण्डेले भने ।
यता, पुल शाखाका अधिकारी साहले भने काम गरेपछि भुक्तानीमा समस्या नहुने बताउँछन् । ‘काम गरेर बिल पेश गरेको खण्डमा हामी जति पनि पैसा दिन सक्छौं । पहिले छुट्याएको बजेटको काम हुनु पर्यो नि ?,’ साहले भने । निर्माण कम्पनी राप्रपाका नेता विक्रम पाण्डेको हो । निकोलस पाण्डे उनका छोरा हुन् ।
प्रदेश सरकारले बनायो एक वर्षमै पुल
बंशिलाघाटको पुल अलपत्र परिरहँदा कोशी प्रदेशले भने बंशिलाघाट नजिकै रहेको बुवाखोलामा ठेक्का लगाएको एक वर्षमै पुल निर्माण सम्पन्न गरेको छ । यो पुलले खोटाङको जन्तेढुंगा र बारापोखरी गाउँपालिकालाई जोड्छ । उक्त पुलको शनिबार उद्घाटन भएको छ । सो पुल १७ करोड ७० लाख १० हजार २६५ मा जय बागेश्वरी रेग्मी चुरिया जेभी गाइघाटले निर्माण गरेको हो । पुल निर्माणको शिलन्याश २०८१ मंसिर ६ गते भएको थियो भने निर्माण अवधि २०८३ कार्तिक ३१ गतेसम्म थियो ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले बंशिलाघाटको पुल आफ्नो चुनावी प्रतिबद्धता भएको र त्यो पूरा गर्न नसक्दा आफूलाई लाज लागेको बताए । उनले भने, ‘बंशिलामा पुल बनाउँछु भनेर भोट मागेको थिएँ । यो पुल नबन्दा नागरिकको अगाडि उभिन पनि गाह्रो भएको छ ।’ उनले संघीय सरकारको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘नागरिकको समस्याको समाधान हामीमार्फत भएन भने कुन व्यवस्थाबाट हुन्छ ? अब हामी प्रदेश सरकारमार्फत नै बंशिलाघाटमा तत्कालका लागि बेलीब्रिज लगाउने तयारीमा छौँ ।’ उनले बुवाखोलाको पुल बन्दा पनि जनताले ‘बंशिलाको खै ?’ भनेर प्रश्न गरेको स्मरण गरे । उनले संघीय सरकारले बंशिलाघाटमा पुल बनाउन नसके प्रदेशलाई हस्तान्तरण गर्न आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।