विराटनगर । सोलुखुम्बुमा निर्माण भएको सोलु हाइड्रोपावर लिमिटेडले आइतबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि पहिलो चरणमा आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको हो ।
आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म रहनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते आवेदन दिने समय तोकिएको छ । आयोजना प्रभावितबारे वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता (४० प्रतिशत) र अन्य प्रभावित वडाका स्थानीय बासिन्दालाई ६० लाख कित्ता (६० प्रतिशत) गरी सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!