विराटनगर । जेनजी आन्दोलनको आडमा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदीलाई मोरङ प्रहरीले पुनः पक्राउ गरेको छ ।
जन्मकैदको सजाय भुक्तान गरिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३० वर्षीय बबिनारायण चौधरीलाई शनिबार बिहान घरनजिकैबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
विशेष सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक रमेश खतिवडाको नेतृत्वमा अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले चौधरीलाई बिहान ८ः५० बजे नियन्त्रणमा लिएको हो । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएपछि चौधरीलाई झुम्का कारागार चलान गरिएको थियो ।
जेनजी आन्दोलनका दिन कारागार क्षेत्रमा भीडभाड, सुरक्षा दवाब र अस्थिरताको फाइदा उठाउँदै भदौ २४ गते उनी फरार भएका थिए । फरार कैदी र प्रतिवादीको खोजीका लागि मोरङ प्रहरीले विशेष अभियान चलाइरहेको एसपी कटवालले बताए । फरार भएर लुकेका सबैलाई पक्राउ गर्ने उद्देश्यले टोलीहरू निरन्तर परिचालन भइरहेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।