विराटनगर । विराटनगरमा आकर्षक इलेक्ट्रोनिक सामानहरू उपहार पर्ने प्रलोभन देखाई अवैध रूपमा चिठ्ठा खेलाएर सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ११, महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राईले अनधिकृत रूपमा ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड नामको कम्पनी खडा गरी विभिन्न आकर्षक विद्युतीय सामानहरू चिठ्ठामा पर्ने भन्दै रसिद काटेर रकम उठाउने गरेका थिए। विशेष सूचनाका आधारमा आषाढ ५ गते दिउँसो अन्दाजी दुई बजे खटिएको प्रहरी टोलीले राईलाई उक्त कम्पनीको नाममा रहेका विभिन्न कागजात र रसिदसहित चिठ्ठा खेलाइरहेकै अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट ठगी कार्यमा प्रयोग गरिएका विभिन्न कागजातहरू समेत बरामद गरेको छ। बरामद गरिएका कागजातहरूमा ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड लेखिएको एक थान ग्राहक पुस्तक, एक सय त्रिपन्न थान ग्राहकहरूको नामावली विवरण, ग्राहकहरूलाई दिइएको रसिदको एक सय पचास थान अर्धकट्टी र चार थान अग्रिम बुकिङ फारम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका राईविरुद्ध चिठ्ठा ऐन २०२५ अन्तर्गत चिठ्ठा सम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।