लोड हुँदैछ...

मेनु

एनपीएलमा आज: कर्णाली-लुम्बिनी र काठमान्डु–विराटनगर आमनेसामने

एनपीएलमा आज: कर्णाली-लुम्बिनी र काठमान्डु–विराटनगर आमनेसामने

विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल निर्धारित छन्। यी दुवै खेलले अंकतालिका, टिमहरूको मनोबल र आगामी यात्रामा महत्वपूर्ण प्रभाव पार्नेछन्।

आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। खेल बिहान ११:१५ बजे त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ।

पहिलो खेलमा कर्णाली याक्स चितवन राइनोजसँग पराजित भएको थियो। त्यस कारण आजको खेल कर्णालीका लागि पहिलो जित हात पार्ने अवसरका रूपमा रहेको छ।

उता, लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै उत्कृष्ट सुरुवात गरिसकेको छ। लगातार दोस्रो जितको लक्ष्यसहित लुम्बिनी आज मैदान उत्रनेछ।
गत संस्करणमा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको इतिहास यस भिडन्तलाई झनै रोमाञ्चक बनाएको छ।

यस्तै, शनिबारको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स भिड्ने छन्। खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ।

काठमान्डुले यसअघि दुई खेल खेलिसकेको छ—पहिलो खेलमा जनकपुरलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

विराटनगर किङ्सले भने आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सहज जित हासिल गरिसकेको छ।
गत संस्करणमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो, जसले आजको भिडन्तलाई पुनः प्रतिशोध र पुनरावृत्तिको रंग दिएको छ।

अहिलेसम्मको अंकतालिका अनुसार सुदूरपश्चिम रोयल्स २ खेलमा २ जितसहित ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा बसेको छ। समान १–१ जित हात पारेका विराटनगर, लुम्बिनी, चितवन र काठमान्डु क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।