- सजग शर्मा
प्रदेश सरकारहरु कमजोर छन। संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। संघीय सरकारसँग वित्तीय निर्भरताको आधारमा भन्न सकिन्छ कि प्रदेश र स्थानीय सरकारहरु नाम मात्रका छन।सवै तहका सरकारहरु बेथिति र भ्रष्टाचारका संरक्षक जस्ता छन। संघीयताको नाममा मुलुक दिनप्रतिदिन झन झन कमजोर हुँदै गएको छ, आईसीयुमा राखेको विरामी जस्तो; एकातिर महंगो शुल्क धान्न धौ धौ छ, अर्कोतिर विरामी झन गलिरहेको छ। यसै कारण आम नागरिकमा चरम निराशा र आक्रोश छ।
मुलुकको भू-राजनीतिक अवस्थिति समेत तिव्र विकासको लागि अनुकूल छैन।दुईवटा विशाल मुलुकहरु छन दाँया बाँया; अरु शक्तिराष्ट्र समेतको चासो र हस्तक्षेप छ।कुल ग्राहस्थ उत्पादन नबढाई राजस्वको आकार बढदैन।राजस्वको आकार नबढी लगानी र खर्चको क्षमता बढाउन सकिन्न।सरकारी वा निजी क्षेत्रको लगानी नबढाई उत्पादन बढाउन सकिदैन यसका लागि उद्यम विकास हुन जरुरी हुन्छ।उद्यमको लागि आधारभूत कच्चा पदार्थको लागि खेती गर्नुपर्छ जग्गाजमीन बाँझो राखेर त्यो पुरा हुनसक्ने अवस्था छैन।
खर्च वा लगानी बढाउदै जाँदा मात्र रोजगारी सिर्जना हुन्छ; अन्यथा रोजगारीको अवसर बढदैन।रोजगारी नबढी आय बढदैन। आय नबढी मानिसहरुको क्रयशक्ति बढदैन। क्रयशक्ति बढाउन सकिएन भने बस्तु तथा सेवा उत्पादन गरेर मात्र हुदैन; बजारको विस्तार हुन सक्दैन। आय बढाउन नसक्दा मानिसहरुको खर्च गर्ने क्षमता बढदैन।खर्च बढेन भने आर्थिक कृयाकलापमा मन्दी आउछ; बजार चलायमान हुदैन र कर राजस्व समेत बढदैन।अर्कोतर्फ आयको बढोत्तरी नहुँदा मानिसहरुको जीवन समेत गुणस्तरिय हुदैन।प्रतिव्यक्ति आय आनुपातिक रुपमा नबढदा गरीव झन गरीव र धनी झन धनी हुने खतरा बढछ।बस्तु तथा सेवाको मूल्य बढदा मंहगीले मानिसहरुको क्रय क्षमतामा थप ह्रास आउछ। यस्तो अवस्थाले आर्थिक सामाजिक प्रणालीका समग्र चरहरुलाई नकरात्मक बनाउछन र लगानी समेत लागतप्रभावी हुदैन; जसले नाफाको दर घटछ र लगानीकर्ताहरु उत्पादनमुखी व्यवसायमा भन्दा व्यापारमुखी कृयाकलाप वा बहुमुल्य धातुको संग्रहमा आकर्षित हुन्छन।अन्ततःयो दुष्चक्र चलिरहन्छ।मुलुक जहिँको तहिँ अझ पछाडी धकेलिदै जाने अवस्था हुन्छ।
आज सुशासन कमजोर हुँदा उद्यम व्यबसाय गर्न निजी क्षेत्रले अनेकौ हण्डर ब्यहोर्नु परेको छ। मुलुकको कर्मचारी प्रशासन,न्याय प्रशासन, शिक्षा, स्वास्थ्य निजी उद्यम लगायत विभिन्न पेशागत क्षेत्र सवै राजनीतिमा समाहित छन; सवै क्षेत्र राजनीति जस्तो लाग्छ।यसले गर्दा न पेशागत मर्यादा, न सेवाभाव र ब्यावसायिकता बाँकी रहेको छ न यसलाई नियमन गर्ने कुनै निकाय वा पदाधिकारी नै बाँकी छ, घुमाउरो पाराले नियामक नै अस्पताल चलाउछ, विद्यालय चलाउछ, व्यापार चलाउछ, देश चलाउनु पर्ने व्यक्ति विचौलियासँग मिलेर सेटिङ्ग चलाउछ।
यति भएपछि सरकारीमा सकेजति विगार्ने र निजीमा नागरिकलाई दोहन गर्न पाईन्छ। निजी अस्पताल वा विद्यालय प्रतिष्ठान रोजगारीका क्षेत्रमा आम मानिसहरु लुटिएका लुटियै छन।यातायात प्रणाली त्यस्तै दुरुह छ; त्यहाँ लुटने मात्र होईन, भिरमा घोप्ट्याउने र मान्छेको जीवन फगत पैसा मान्ने संस्कार विकास भएको छ। जुन समय अत्यावश्यक प-यो, त्यहि बेला मूल्य बढाईदिने गरिन्छ; तर यी सवै कुकर्महरु राज्य टुलुटुलु हेरेर बसीरहन्छ, प्रशासन प्रशासन जस्तो छैन प्रहरी प्रहरी जस्तो छैन न्यायाधिशमा न्यायको भन्दा राजनिति र अनियमितताको दुर्गन्ध बढी छ, शिक्षक प्राध्यापक पेशागत विज्ञता भन्दा राजनीतिका दुतहरु जस्ता मात्र लाग्छन।
राज्य छ तर विष नभएको सर्पजस्तो कोहि कसैको त्रास वा भर छैन।राज्यले वैधता गुमाएको अवस्था छ। अपराधको संरक्षण नेतृत्वले नै गरेको अवस्था छ।राम्रो गर या नगर तर नराम्रो गर्नेहरुलाई संरक्षण नगर; नचोख्याऊ भनेर जनताले वर्षौदेखि कराई रहेछन; तर त्यहि गरिरहेछन यिनीहरु; कार्यकर्ता, , आफन्त, दाता वा मन्त्री बाहेकबाट मात्र अपराध हुन्छ भन्ने मानक विकास गरेकैले भित्रभित्र बलेको आगो शहरमा सल्कियो परिवर्तनको हावा मात्र होईन हुरी चल्यो र धेरैलाई बाल्यो र अझै बाल्नेछ।यो सवै राजनीतिक र व्यक्तिगत लाभको चक्रब्यूहमा मन्चन भईरहेको “नेपाल” हो।
उत्पादकहरुका लागि आन्तरिक बजार सानो छ।यहि पर्खाल नाघेर नेपाली वस्तु तथा सेवा वैश्विक बजारमा पुग्न पनि त्यति सहज छैन।बजारको आकार नबढदा ठूला लगानीकर्ताहरु आकर्षित हुन सक्दैनन्।यसले उत्पादन बढदैन वा उत्पादनमुखी क्षेत्रमा लगानी झन संकुचित हुन्छ। आपूर्ती र बजार श्रृंखलाको प्रणाली स्थानीय, क्षेत्रीय, राष्ट्रिय हुदै अन्तराष्ट्रियस्तरमा आवद्ब हुनुपर्नेमा आपूर्ती श्रृंखलामा बग्रेल्ती अवरोधहरु छन।ति हटाउन सकिएको छैन।यस्तो अवस्थामा प्रदेश सरकारहरुले सुशासन, समृद्बि र आत्मनिर्भरताको आ-आफ्नो कार्ययोजना बनाएर अगाडी बढनुपर्नेमा त्यो समेत हुन सकेको छैन।
प्रदेश सरकारहरु संघीय सरकारको विस्तारित स्वरुपमा सिमित छन। सरकार संचालन, संरचना वा व्यवस्थापकीय पद्बति यो भन्दा पर फरक र प्रभावकारी हुनसक्ला र ? भन्ने सामान्य चेत पनि प्रादेशिक नेतृत्वमा देखिदैन।संघीय मठाधीशकोमा गयो; आशिर्वाद प्राप्त ग-यो र त्यहि बलमा, त्यहि ईशारामा र त्यही लयमा लरखरायो, लरवरायो; यसैमा प्रदेश चलेको छ।
हरेक प्रदेशले संविधानकै सीमा भित्र रहेर पनि आफ्नै मौलिक शासकीय क्षमता, कर्मचारीतन्त्र, र सुशासनको ढाँचा अगाडी सारेर हिडन सक्थे; त्यो गरेनन्।संघको वैशाखी टेकेर, संघकै थोत्रा भईसकेका नीति, कानुन, कार्यविधी र सोचको कपीपेस्ट गरेको भांग्रो भिरेर हिडेपछि नतिजा पनि संघको भन्दा भिन्न आउन सकेन र आउदैन पनि। हुन त एउटै बोतलको ३ पाने ३ वटा ठेकीमा सारेको मात्र हो; फरक स्वाद र तमास त पक्कै आउने थिएन नै; तैपनि खान्दानी यजमानी परिवारको कुनै छोराले वर्षौदेखि बाउबाजेले गरेको पेशाबाट विद्रोह गरेर छुट्टिएर शहरमा ममः वा सिलाई कटाईको पेशा अगाँलेर तरक्की गरेको पनि देखिएको छ। ठूला पण्डित, माईला पण्डित र साने पण्डित भन्दा बढी हुनसकेको कोहिपनि देखिएन र देखिने चालापनि छैन।यसले संघीयताबाट चमत्कार हुने पूर्वानुमान पनि पटाक्षेप भई नै सक्यो र अव प्रत्यक्ष कार्यकारीको अर्को फण्डा चर्चामा छ किन्तु परन्तु जवसम्म राज्यका पदाधिकारी राज्यका हुन सक्दैनन् तवसम्म कुनै सुत्रले काम गर्नेवाला छैन।
शासन सर्वश्रेष्ठ कला हो। क्षमता हो। सोच हो। प्रतिवद्बता हो । कठोर अनुशासन र त्याग हो।दृष्टिकोण हो। विचार हो। आँट हो। सिर्जनशिलताको क्षितीज हो। आयामिक अग्रसरता र जोखिमहरुसँगको लुकामारी हो ।तर हाम्रोमा अर्कै भयो। झगडा हो। कमाउने अवसर हो। कजाउने समय हो। मनलाग्दी गर्ने अधिकार वा लाईसेन्स हो।रैती बाट राजा बन्ने समय हो।काम होईन; आदर्शका ठूला ठूला गफ गर्ने क्षमता हो। अलिकति लज्जावोध समेत हुदैन।मुलुक र मुलुकबासीको भाग्य र भविष्य बदल्न भनेर हिडेको व्यक्ति, जेलनेल युद्ब भोगेको, बलिदानी देखेको, सहयोद्बा आफ्ना आँखै अगाडी ढलेको, रगतमा लतपतिएको र प्राण गुमाएको साक्षी भएको व्यक्ति जव नेता बन्छ; जव मन्त्री बन्छ, त्यो सव एकैपटक खरानी बनाउछ; केवल केहि थान अमुक आफन्तहरुको भविष्य सुरक्षित गर्न, कुनै अमुक पदमा कसैलाई पु-याउन, केहि आफ्ना आसेपासे स्तुति गायकहरु वा कार्यकर्ताको स्वार्थको चंगुलमा सहजै फस्दछ।अझ विचौलीया, अन्नदाता, मुद्राप्रदायकहरुको उल्झनमा आफ्नै गतिशील खुट्टाहरुमा उल्झनले बेरिन्छ माया मोह र लोभको जन्जालमा फस्दछ र आफ्नै मतदाता, मुलुक र मुख्य मुद्बा सामान्यतः बिर्सन्छ।
योग्यताप्रणाली विर्सन्छ।विधिको शासन बिर्सन्छ।खुलापन र पारदर्शिता विर्सन्छ।कानुनको शासन विर्सन्छ।जवाफदेहिता विर्सन्छ।राष्ट्रको नीति बिर्सन्छ।कानुन विर्सन्छ।नैतिकता बिर्सिन्छ।राष्ट्रको सम्पत्ति जगेर्ना गर्न उ त्यहाँ पुगेको बिर्सन्छ र उल्टै आफै त्यसमा परोक्ष प्रत्यक्ष संलग्न हुन्छ।सुशासन दिन उ त्यहाँ पुगेको बिर्सिन्छ।गरीब र दिनदुखीहरु बिर्सिन्छ।जसका लागि केहि गर्छु भनेर जान्छ आखिर उनीहरु सवैलाई विर्सिन्छ र केवल आफूलाई, आफ्ना र आफन्तहरुलाई सम्झन्छ र अरुको नाम वारम्वार लिदालिदै तिनै आफ्नाहरुका लागि मरिहत्ते गरिरहन्छ जो सवैलाई ज्ञात हुन्छ तर ऊ आफू अज्ञात भए जस्तै गर्छ र भ्रमको डोरीले सवैलाई बाँधिरहन मन पराउछ।
राजनीति वा प्रशासनका पदहरु वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, उपप्रमुख, नगर प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्री वा कार्यकारी प्रमुख, सचिव, मुख्य सचिव जस्ता सार्वजनिक पदमा पुगेको मान्छे कसैको होईन; उ राष्ट्रको मान्छे हो भन्ने कसले र कसरी सम्झाई दिने होला? राष्ट बनाउने ठाँउमा जहाँ उसले आफ्नो सालोलाई पिए बनाउछ कसरी उसलाई बुझाउने कि राष्ट्रको सालो हुदैन भनेर? जहा उसको श्रीमतीले भित्र भित्रै मुसाले कोट काटे सरह देश काटीरहेकी हुन्छिन त्यो मिल्दैन भनेर अथवा जो निमुखा र जसको प्रतिनिधित्व हुन सक्दैन त्यो वर्गको लागि समानुपातिक व्यवस्था थियो तर त्यहिँ श्रीमतीलाई सांसद चयन गर्छ निर्लज्ज, यो मिल्ने होईन हजुर भनेर किन कसैले भनेन वा बुझाई दिनएन ?
उसको छोरी छोरी भएकै कारण त्याहाँ पुग्नु हुदैनथ्यो किनकी त्यहाँ पुगेको व्यक्तिका लागि सारा छोराछोरीहरुको भविष्य उसैको हातमा थियो।सवै बा आमाहरु उसका हुनुपर्ने थियो अह यो कहिलै भएन।यस्तो किन भयो होला। अचम्म लाग्छ। जुन दिन उसलाई यस्तो लाग्छ त्यो दिन देखि उसले आफ्नो वरिपरी आफ्ना मान्छे होईन; सर्वश्रेष्ठ मान्छे खोज्ने छ, विज्ञ, योग्य र ईमान्दार खोज्ने छ, योग्यताप्रणालीलाई स्वीकार्ने छ, किनकी उसका लागि त्यो समय सिंगो मुलुक, आमनागरिक र मुलुकको भविष्य मात्र उसले देख्नेछ।जे गर्दा मुलुकको हित हुनेछ; त्यहि गर्नेछ। त्यो समय उ एक्लो भएरपनि सवैको हुनेछ। आज उसका सवै छन; तर उसको हातमा परेर मुलुक छैन। मुलुकको हित छैन। मुलुकको भविष्य छैन। लोकतन्त्र छैन। शुशासन छैन। सर्वत्र सुख, शान्ति र अमनचयन छैन।आशा थियो,, त्यो छैन।उ प्रति, विश्वास छैन, उसले गलत गर्दैन भन्ने भरोसा छैन, किनकी उ सँग मनभित्र, मष्तिष्कमा, आँखामा, कर्ममा, सोचमा अथवा व्यबहारमा उसको मुलुक छैन।भोकानाङ्गा दिनहीनहरु छैनन्।योग्यतम र ईमान्दार मानिसहरु छैनन।
मानिससँग कि बेईमान साथमा हुन्छ, कि ईमान हुन्छ।दुवै एकैसाथ हुन सक्दैन। तपाईको कचौंरामा कि आगो हुन्छ, कि पानी हुन्छ; एकैसाथ आगो र पानी हुन सक्दैन। तपाई आफन्तको, नातागोताको, कार्यकर्ताको, विचौलियाको, तस्करको, व्यापारीको, सेटिङ्गकर्ताको, अपराधीको, गुण्डाको, नैतिकहीनको, भ्रष्टको, सुदखोरको र मुर्खको हुनु भयो भने कसको हुनु भएन वा हुनसक्नु भएन; आफैं बुझ्नुहुन्छ।
किसानको खेतमा पानी छैन, मल छैन, जसोतसो उत्पादन ग-यो, बजारभाउ छैन, विचौलियाले न किसानलाई, न उपभोक्तालाई, श्रम र मूल्यअनुसारको सामान वा सेवा प्राप्त गर्न दिएको छ।ठेकदारले न राज्यलाई सस्तोमा वा गुणस्तरिय योजना बनाईदिएको छ; न समयमा काम गरिदिएको छ।कर्मचारीले नागरिकलाई दिनुपर्ने सेवा न सहज दिएको छ, न उसले स्वतन्त्र काम गर्न पाएको छ।
यस्ता लाखौ ठाँउहरुमा जुन दिन तपाईले राष्ट्र देख्नुहुन्छ; त्यो दिन देखि समस्या अरुमा होईन तपाईमा भेटनु हुनेछ।त्यहि समय देखि घडी सुल्टो चल्नेछ र तपाई आफ्ना होईन; सक्षम, विज्ञ र विशेषज्ञ खोज्न थाल्नुहुनेछ।तिनीहरुसँग तपाई वा तपाई आवद्ब संस्थाप्रतिको दलभक्ति, आस्था वा आवद्बता होईन; काम, दक्षता, कर्तव्यपरायणता र नतीजा खोज्नुहुनेछ।
निस्पक्षता र विधिको शासन खोज्नुहुनेछ।सवैप्रतिको समानुभुति, सम्मान र श्रद्बा खोज्नुहुनेछ। कानुनको कठोरता खोज्नुहुनेछ।त्यो वेला; तपाईले राज्यको हरेक पाईपाई हिसाव खोज्नु हुनेछ किनकी तपाईलाई राज्यको सिमित र दुर्लभ स्रोत अपव्यय भएको देख्दा दुखः लाग्नेछ। त्यस क्षण तपाईं सुशासन र शुद्बता खोज्नुहुनेछ।अरुलाईपनि त्यहि मार्गमा हिडाउन सक्नुहुनेछ। प्रेरित गर्नुहुनेछ।तपाई त्यो दिनदेखि अरुसँग होईन; तपाईसँग अरु डराउनेछन।तपाईको आदर्श, ब्यबहार र प्रतिवद्बताबाट तपाईमा अभुतपूर्व ऊर्जा प्राप्त हुनेछ; जसले तपाईमा अनौठो र अदम्य आँट सिर्जनशिलता प्रखर भएर ब्यूँतिनेछ।एउटा ज्योतिर्मय, सुकृतिमय व्यक्तित्वको वरीपरी बैईमानहरु भष्म हुनेछन। त्यो समय तपाईको साथमा असल र कर्मशील हातहरु, क्षमतावान मानिसहरुको साथ र भरोशा हुनेछ। जुनदिन तपाईको आँखामा, मनमा र कर्ममा मुलुक पर्नेछ; त्यो सुनौलो दिनमा तपाईका अकर्मण्य पात्रहरु सवै हराएर जानेछन, तपाईको दृष्टिदोष हराउनेछ, र वास्तविक समस्या देख्न शुरु गर्नुहुनेछ, अरुलाईपनि त्यहि मार्गमा डो-याउनु हुनेछ र त्यहि दिनदेखि शुसासन समृद्बि र सुखका दिन प्रारम्भ हुनेछन्।
“जय मुलुक”


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!