विराटनगर । युवालाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ । सहकार्यका विषयमा संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसंग जोडन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले युवालाई रोजगारीसँग अभिमुख गराउन स्कुल–टु–वर्क कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उनले संगठनले संचालन गरिसकेको स्टार्टअप एण्ड इनोभेशन, सीपमूख तालिम, सीप उत्सव जस्ता कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा युवामुखी कार्यक्रमहरूले उद्यमशीलता विकास, स्वरोजगार र रोजगारीका क्षेत्रमा नया आयाम थप्ने विश्वास व्यक्त गरे ।
एसओएस नेपालका परियोजना निर्देशक डिसी चौधरीले एसओएसका गतिविधिहरू प्रस्तुत गर्दै उद्योगहरूमा योग्य, परिश्रमी र सीपयुक्त जनशक्तिको माग बढिरहेको वर्तमान अवस्थामा युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए । उनले युवालाई सही मार्गदर्शन र अवसर प्रदान गर्नसके उनीहरू औद्योगिक विकासका महत्वपूर्ण ऊर्जा बन्न सक्ने धारणा राखे ।
संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन कावराले निजी क्षेत्र र युवाबीचको सम्बन्धलाई बलियो र दिगो बनाउन निरन्तर संवाद र सहकार्य अत्यावश्यक रहेको उल्लेख गरे । कार्यक्रममा उद्योग संगठन मोरङका कार्यसमिति सदस्यहरु, महिला उद्यम समितिका सदस्यहरु, एसओएसका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहेको थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!