भन्सार छलीको आशंकामा ११ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा

भन्सार छलीको आशंकामा ११ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको करिब ११ लाख रुपैयाँ बराबरको सामान बोकेको एक भारतीय नम्बर प्लेटको ट्याक्टरलाई प्रहरीले भन्सार छली गरेको आशंकामा नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले उक्त ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर १३ स्थित टेलिकम कार्यालय अगाडिबाट बीआर ३८ इ ७४२५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार, भन्सार पास गर्दा देखाइएको भन्दा बढी मूल्यको सामान लोड गरिएको भन्ने सूचनाका आधारमा ट्याक्टरमाथि निगरानी गरी नियन्त्रणमा लिइएको हो ।

ट्याक्टरमा तुलसी गोल्ड पोलिस्टन थ्रेड, फिनिस लेदर, लेदर केमिकल, कटोक फेब्रिक्स लगायतका विभिन्न किसिमका सरसामानहरू थिए । भन्सार कार्यालयमा ती सामानहरूको कुल मूल्य १० लाख ९६ हजार ३७१ रुपैयाँ घोषणा गरिएको थियो ।

प्रहरीले ट्याक्टरका चालक भारत, बिहार राज्य अररिया जिल्ला जोगबनीका ३८ वर्षीय रोशन यादवलाई पनि नियन्त्रणमा लिएको छ । यस घटनामा भन्सार एजेन्टका सहयोगी अकबर अलीको संलग्नता रहेको आशंका गरिएको छ । यद्यपि, अलीले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आफूलाई दुःख दिने नियत मात्र भएको बताएका छन् ।

यता, राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीका सूचना अधिकारी विदुर गौतमले प्रहरीले बुझाएको ट्याक्टर र सामानमाथि अनुसन्धान सुरु गरिएको पुष्टि गरेका छन् । उनले भने, ‘ट्याक्टरमा लोड गरिएको सामान खोल्ने प्रक्रियामा छौं । विस्तृत अनुसन्धानपछि मात्र राजस्व छली भए नभएको कुरा खुल्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्