विराटनगर । कुनै समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको कल्पना गर्दा विराटनगर वा पूर्वी क्षेत्रका खेलाडीबिना अधुरो हुन्थ्यो । राष्ट्रिय टोलीमा ६ देखि ७ जना खेलाडी पूर्वी क्षेत्रबाटै पर्थे । तर, अहिले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरको नाममा फ्रेन्चाइज टोली ‘विराटनगर किङ्स’ खेल्दा पनि त्यसमा स्थानीय खेलाडीको उपस्थिति कमजोर छ । विराटनगर किङ्सका श्रवण किस्कु र आयुष न्यौपाने मात्रै कोशीका हुन् ।
यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ । राष्ट्रिय क्रिकेटको ‘पावरहाउस’ मानिने पूर्व खेलाडी उत्पादनमा किन यति धेरै पछि प¥यो ? क्रिकेटका जानकारहरु विराटनगरको क्रिकेट इतिहास निकै बलियो रहेको दाबी गर्छन् ।
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबुका अनुसार पूर्वी क्षेत्रले नेपाली क्रिकेटलाई एकसेएक हस्तीहरू दिएको छ । जापानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा ‘म्यान अफ द म्याच’ बन्ने मनिषराज पाण्डेदेखि राजकुमार प्रधान, पारस लुनिया, मेहबुब आलम, नबिन घिमिरे, आमीर अख्तर, लाक्पा लामा जस्ता खेलाडीहरूले राष्ट्रिय टोलीमा पूर्वको दबदबा कायम राखेका थिए ।
विराटनगर किङ्सका संस्थापक तथा पूर्व राष्ट्रिय खेलाडी पारस लुनिया सम्झन्छन्, “एक समय थियो, जब आधा राष्ट्रिय टोली यहीँबाट बन्थ्यो । यहाँ बलियो क्लब क्रिकेट संस्कृति थियो । जनकपुर चुरोट कारखाना र विराटनगर युथ क्रिकेट क्लब जस्ता क्लबहरूले नियमित प्रतियोगिता खेल्थे, जसले खेलाडीलाई निखार्ने काम गथ्र्यो ।’
विगतमा यति बलियो रहेको पूर्वी क्षेत्र अहिले खेलाडी उत्पादनमा किन पछि प¥यो ? क्रिकेट विज्ञहरू र पूर्व खेलाडीहरू यसका पछाडि मुख्य दुई कारण औंल्याउँछन् । एउटा प्रतियोगिता र प्रतिस्पर्धाको खडेरी लाग्यो । अर्को पूर्वाधारको अवस्था दयनीय भयो ।
विगतमा पूर्वी क्षेत्रमा नियमित रूपमा अन्तर–क्लब र जिल्लास्तरीय प्रतियोगिताहरू हुन्थे । खेलाडीहरूले भारतको पटना, सिलिगुडी जस्ता ठाउँमा गएर बलिया टोलीहरूसँग खेल्ने अवसर पाउँथे । ‘आफूभन्दा राम्रो टिमसँग खेल्दा खेलको स्तर स्वतः माथि उठ्थ्यो,’ साद बाबु भन्छन्, ‘अहिले त्यस्ता प्रतियोगिताहरू हुन छाडेका छन् । घरेलु प्रतिस्पर्धा नै नभएपछि खेलाडीको विकास कसरी हुन्छ ?’ पारस लुनिया पनि यसमा सहमत छन् । उनका अनुसार अहिले क्लब क्रिकेट लगभग निष्क्रिय छ र खेलाडीहरूले एक्सपोजर पाइरहेका छैनन् ।
पूर्वी क्षेत्रमा क्रिकेटको पूर्वाधार सबैभन्दा ठूलो चुनौती बनेको छ । विराटनगरको सहिद रंगशाला बहुउद्देश्यीय भएकाले क्रिकेटका लागि उपयुक्त छैन । अन्तर्राष्ट्रिय मापदण्डको भनिएको बैजनाथपुर क्रिकेट मैदानको अवस्था झनै दयनीय छ । ‘बैजनाथपुर मैदानसम्म पुग्न खेलाडीलाई यातायातको समस्या छ र मैदानको मर्मतसम्भार पनि राम्रो छैन,’ बाबु भन्छन्, ‘हामीसँग जिल्ला क्रिकेट संघको आफ्नो मैदान नहुँदा निजी मैदानमा भर पर्नुपर्ने बाध्यता छ ।’
पूर्वाधारको अभावमा खेलाडीहरूले नियमित अभ्यास गर्ने र आफ्नो प्रतिभा निखार्ने अवसरबाट वञ्चित हुनुपरेको र जसको सीधा असर खेलाडी उत्पादनमा परेको उनको भनाइ छ । यद्यपि, अवस्था निराशाजनक मात्र भने छैन । निजी क्षेत्रबाट क्रिकेटलाई पुनर्जीवित गर्ने प्रयासहरू सुरु भएका छन् । विराटनगर किङ्सले खेलाडीहरूलाई मुम्बईमा प्रशिक्षणका लागि पठाउनेदेखि ग्रासरुट स्तरमा प्रतिभा खोज्न ‘ड्रिम टु प्ले’ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
‘एनपीएलले एउटा नयाँ क्रान्ति ल्याउन सक्छ,’ लुनिया भन्छन्, ‘जसरी भारतमा १९८३ को विश्वकप जितले क्रिकेटको लहर ल्यायो, त्यसैगरी यस्ता लिगले युवाहरूलाई आकर्षित गर्न सक्छ । हाम्रो उद्देश्य केवल उपाधि जित्नु मात्र होइन, यहाँको क्रिकेट इकोसिस्टमलाई नै बलियो बनाउनु हो ।’
विराटनगर किङ्सले निकट भविष्यमै ‘विराटनगर किङ्स बी’ टिम बनाएर प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने र नयाँ खेलाडीहरूलाई प्लेटफर्म दिने योजना बनाएको छ । ‘प्रदेशस्तरीय प्रतियोगिता गरेर त्यहाँबाट खेलाडी छनोट गर्ने र उनीहरूलाई वर्षभरि नै प्रशिक्षण दिने हाम्रो योजना छ,’ विराटनगर किङ्सका अर्का लगानीकर्ता सुयस प्याकुरेलले भने, ‘हाम्रो ‘ए’ टिमका खेलाडीहरूसँग पनि उनीहरूलाई खेल्ने अवसर दिन्छौं, जसले गर्दा उनीहरूले सिक्न पाउँछन् । हाम्रो सपना भनेकै यहाँका खेलाडीहरूले भोलि विराटनगर किङ्सबाट खेल्ने लक्ष्य राखुन् भन्ने हो ।’
तर, निजी क्षेत्रको प्रयास मात्र पर्याप्त छैन । जबसम्म नेपाल क्रिकेट संघ (क्यान) र सरकारी निकायले पूर्वाधार निर्माण र नियमित प्रतियोगिता आयोजनामा ध्यान दिँदैनन्, तबसम्म पूर्वी क्षेत्रले आफ्नो पुरानो साख फर्काउन सक्ने देखिँदैन । अहिले राष्ट्रिय टोलीमा अहिले ललित राजवंशी र यू–१९ मा दिपेश कँडेलले मात्र पूर्वको प्रतिनिधित्व गरिरहेका छन् । यो संख्या बढाउन र फेरि पनि पूर्वलाई क्रिकेटको उर्वरभूमि बनाउन एकिकृत र योजनाबद्ध प्रयासको तत्काल खाँचो रहेको प्याकुरेल बताउँछन् । ‘पूर्वाधार विकास, खेलाडी उत्पादन र व्यावसायिकतामा ध्यान दिने हो भने नेपाली क्रिकेटले अझै ठूलो उचाइ हासिल गर्नेछ,’ उनले भने, ‘हामी सबै मिलेर लाग्नुपर्छ, सरकार, निजी क्षेत्र र समर्थक सबैको साथ आवश्यक छ ।’
विराटनगर किङ्सले क्रिकेटको भविष्य बनाउने !
गत वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) मा कमजोर प्रदर्शन गरेको विराटनगर किङ्सले यो पटक विश्वस्तरीय खेलाडी र घरेलु प्रतिभाको सन्तुलित टोलीसहित बलियो पुनरागमनको तयारी गरेको छ । मंसिर १ गतेदेखि सुरु हुने लिगमा उपाधि जित्ने मात्र नभई नेपाली क्रिकेटको जग बसाल्ने दीर्घकालीन योजनासहित अघि बढेको क्लबका संस्थापक सुयस प्याकुरेलले बताएका छन् ।
गत वर्षको नतिजालाई पछि पार्दै यसपटक टिमले उत्कृष्ट तयारी गरेको प्याकुरेलको भनाइ छ । “हामीले फाफ डु प्लेसिस जस्ता विश्वचर्चित खेलाडीदेखि विभिन्न देशका उत्कृष्ट खेलाडीहरूलाई टोलीमा अनुबन्ध गरेका छौं,” उनले भने, “विदेशी र स्वदेशी खेलाडीको सन्तुलनले टिमलाई बलियो बनाएको छ र हामी यो पटक उत्कृष्ट प्रदर्शन गर्न विश्वस्त छौं ।”
विराटनगर किङ्सको लक्ष्य केवल एनपीएलको उपाधिमा मात्र सीमित छैन । क्लबले नेपाली क्रिकेटको भविष्य निर्माण गर्न ग्रासरुट स्तरमा समेत काम गरिरहेको छ । “विदेशी खेलाडीले मात्र क्रिकेटको विकास हुँदैन, हाम्रो मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु हो,” प्याकुरेलले भने । यसका लागि क्लबले कोशी प्रदेशका १४ जिल्लामा ‘ड्रिम टु प्ले’ जस्ता प्रतियोगिता सञ्चालन गरी आयुष नेपाने जस्ता युवा प्रतिभालाई अवसर दिएको छ ।
यसबाहेक, क्लबले निकट भविष्यमै ‘विराटनगर किङ्स बी’ टिम निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। प्रदेशस्तरीय प्रतियोगितामार्फत नयाँ खेलाडी छनोट गरी उनीहरूलाई वर्षभरि नै प्रशिक्षण दिने र ‘ए’ टिमसँग खेल्ने अवसर प्रदान गर्ने लक्ष्य रहेको उनले बताए।
नेपालमा क्रिकेटको पूर्वाधार विकासको आवश्यकता औंल्याउँदै उनले ‘होम एन्ड अवे’ प्रणालीमा खेलहरू आयोजना गर्नुपर्नेमा जोड दिए । “सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्ने हो भने निजी क्षेत्र लगानी गर्न तयार छ,” उनले भने, “हरेक प्रदेशमा स्तरीय स्टेडियम बन्दा स्थानीय स्तरमा क्रिकेटको आकर्षण बढ्छ र नयाँ प्रतिभा जन्मिन्छन् ।”
आर्थिक पक्षबारे कुरा गर्दै प्याकुरेलले गत वर्ष करिब साढे चार करोड रुपैयाँ नोक्सान भए पनि यसपटक प्रायोजक र टिकट बिक्री राम्रो भएकाले घाटा घट्ने अपेक्षा रहेको बताए । “व्यावसायिक क्रिकेटमा तत्काल नाफा नभए पनि टिमको नेटवर्थ बढेको छ,” उनले भने, “हामी दीर्घकालीन सोचका साथ ५ वर्षसम्म टिक्ने योजना बनाएर आएका छौं ।”
एक समय राष्ट्रिय टोलीमा दबदबा रहेको विराटनगरको क्रिकेट इतिहासलाई पुनर्जीवित गर्नु पनि आफ्नो लक्ष्य रहेको बताउँदै उनले पूर्वाधार र अवसर पाएमा फेरि पनि यहाँबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनेमा विश्वस्त रहेको धारणा राखे ।

