विराटनगर । पहिलो संस्करण निराशाजनक खेलेको विराटनगर किंग्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा उपाधि जित्ने लक्ष्यसहित नयाँ रूप, नयाँ रणनीति र नयाँ महत्त्वाकांक्षासहित मैदानमा उत्रँदैछ ।
गएको सिजनमा ७ खेलमध्ये २ मा मात्र जित निकाल्दै छैटौँ स्थानमा रोकिएको टोलीले यो पटक उपाधिलाई केन्द्रमा राखेर आक्रामक स्क्वाड र विश्वस्तरीय ‘क्रिकेट माइन्ड’ को संयोजन निर्माण गरेको दावी गरेको छ ।
पहिलो संस्करणमा विपक्षीलाई दवाबमा राख्न नसक्ने ब्याटिङ, डेथ ओभरको कमजोरी, विदेशी निर्भरता र कप्तानी समन्वय मुख्य यस टिमको चुनौतीको रुपमा देखिएको थियो । दोस्रो संस्करणमा यी सबै पक्षमा सुधार भएको टिमको दावी छ ।
लगानीकर्ता सुयस प्याकुरेलका अनुसार टिम अत्यन्तै व्यवस्थित र सन्तुलित रहेकोले यसपटकको लक्ष्य उपाधि जित्नु हो । पहिलो संस्करणमा करिब १० करोड खर्चिएको टोलीले यसपटक लगानी झनै बढाएको छ।
खेजाडीको अक्सनमा विराटनगरले ६६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै पाँच विदेशी खेलाडीलाई २० लाखदेखि ४० लाख रुपैयाँसम्म लगानी गरेर नेपाल भित्र्याइएको हो ।
यस पटक विश्व क्रिकेटका सुपरस्टार दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसदेखि नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने र पावर–हिटर न्युजिल्याण्डका मार्टिन गप्टिल विराटनगर किंग्समा छन् । यस्तै, टी–२० विशेषज्ञ स्कटल्याण्डका जर्ज मुन्से, अस्ट्रेलियाका साम हिजलेट, अफ्रिकाका मर्चेन्ट डी ल्याङ्गे र अनुभवयुक्त अमेरिकाका अलराउण्डर शुभम रन्जने सम्मिलित टिम लिगकै बलियो टिम मानिएको छ ।
न्यूजिल्याण्डका लिजेन्ड ओपनर ब्याटर मार्टिन गप्टिल अघिल्लो संस्करणमा पनि विराटनगरबाट खेलेका थिए । स्कटल्याण्डका ब्याटर जर्ज मुन्से टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन् । उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
अष्ट्रेलियाका अलराउण्डर साम हिजलेट अष्ट्रेलियाका यू–१९ टिमबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिसकेका खेलाडी हुन् । उनको उत्कृष्ट स्ट्राइक रेट रहेको छ ।
नेपाली खेलाडीहरु लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, नरेन भट्ट, शंकर राना, नारायण जोशी, श्रवण किस्कु, साहिल पटेल, सुवास भण्डारी र सूर्य तामाङ पनि टिममा छन् । घरेलु फिनिसर र उदाउँदै गरेका बलरहरूको उपस्थिति विराटनगरको ‘डेप्थ’ लाई अन्य टोलीभन्दा मजबुत बनाउने विश्वास गरिएको छ ।
त्यसमाथि विराटनगर किंग्सको केन्द्रमा यसपटक मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि छन् । पुबुदुले २०१४ को टी–२० विश्वकपमा नेपाललाई मैदानमा उतारेका थिए र पछिल्ला वर्षमा अमेरिकी राष्ट्रिय टोलीलाई विश्व स्तरमा उकासिरहेका छन् ।
नेपाल सम्मिलित विश्वकप क्रिकेट लिग–टु अन्तर्गत हालै सम्पन्न युएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले सबै ४ खेल जितेको छ । अनुभवी र सफल प्रशिक्षक पुबुदुको प्रशिक्षणमा टिम उत्साहित रहेकोक लगानीकतर्का प्याकुरेलले बताए ।
पहिलो संस्करणमै जनकपुर बोल्ट्सको प्रशिक्षक रहेर टिमलाई च्याम्पियन बनाएका पुबुदु यसपटक विराटनगरमा छन् । उनीसँगै धमिकाप्रसाद ब्याटिङ कोचका रूपमा जोडिँदा विराटनगरको टेक्निकल विभाग अनुभवी र विश्वसनीय देखिन्छ ।
फ्रेन्चाइज संरचनामा पनि विराटनगर किंग्स व्यवस्थित बनेको छ । एमएडी ड्रीम्स स्पोर्ट्स प्रालिले १ करोड ५१ लाखमा फ्रेन्चाइज किनेको भएपनि वास्तविक खर्च १२–१५ करोड रहेको टिमका मालिकहरुले बताएका छन् ।
विराटनगर किंग्सको स्वामित्व म्याड स्पोर्ट्स (एमएडी)मा छ । जसमा चार उद्यामीको लगानी छ । एमएम ग्रुपका सुयस प्याकुरेल, म्याजिक ग्रुपका अनुज पोद्धार, अरिहन्त ग्रुपका पारस लुनिया र देवनगरा ग्रुपका बैंकटेश मुन्दडा लगानीकर्ता हुन् ।
उनीहरुमध्ये लुनिया नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी हुन् भने प्याकुरेल गल्फका एम्याचर खेलाडी हुन्े । खेल पर्यटन, क्रिकेट पूर्वाधार र विश्वस्तरीय वातावरणमा नेपाली खेलाडीको विकासको लक्ष्य अनुसार लगानी गरेको उनीहरुले बताएका छन् ।
एनपीएलको गत संस्करणमा विराटनगरको मुख्य कमजोरी ‘ओपनिङ–स्टेबिलिटी’ थियो । त्यसलाई यसपटक गप्टिल–मुन्से–हिजलेट संयोजनले परिवर्तन गरिदिने विश्वास गरिएको छ । विश्वस्तरीय तीन प्रिमियम ओपनर भएकाले विराटनगर बिस्फोटक टिम बन्नसक्ने आँकलन गरिएको छ ।
बलिङमा सन्दीप–डी ल्याङ्गे–प्रतिश–बसिर–सूर्यको संयोजन हुनेछ । त्यसले डेथ ओभरदेखि पावरप्लेसमेत सन्तुलन प्रदान गर्नेछ ।
सोमबारबाट सुरु हुने लिगमा विराटनगर किंग्सले पहिलो खेल मंसिर २ गते मंथलबार पोखरा एभेन्जर्ससँग खेल्दैछ । कीर्तिपुर मैदानको नयाँ पिच, नयाँ ग्रास र फ्लडलाइटमा हुने खेल रोमाञ्चक हुनेछ ।

