विराटनगर । सुनसरीको धरानमा शुक्रबार राति प्रहरीले दुई फरक घटनामा ठूलो परिमाणको लागुऔषध बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।
नियमित चेकजाँचलाई कडाइ गर्दै गएको प्रहरीले ४९ किलो गाँजा बरामद गरि ब्राउन सुगर र ठूलो मात्रामा ट्याब्लेट समेत नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका–४ को कोशी राजमार्ग क्षेत्रमा राति १०ः२० बजे चेकजाँचका क्रममा दुई वटा मोटरसाइकललाई रोकिएसँगै चालक फरार भएपछि प्रहरीले तत्काल मोटरसाइकल नियन्त्रणमा लिएको थियो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका मोटरसाइकलको खानतलासी गर्दा प्याक गरी ल्याइँदै गरेको ४९ किलो गाँजा भेटिएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवेले बताए ।
बरामद गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । फरार चालकहरूको खोजी तीव्र गरिएको प्रहरीले जनाएको छ।
यस्तै धरानका अन्य स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान–५ कुलुङ चोकनजिक राति ९ः१० बजे चेकजाँच गर्दा सुनसरीको बाराहक्षेत्र नगरपालिका–१५ का २८ वर्षीय सनम तामाङको साथबाट ३.३३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिइएको हो ।
त्यसअघि राति ८ः३० बजे धरान–१७ ठकुरी पुलनजिक प्रहरीले प्रदेश १–०२–०४० प ७१५८ नम्बरको मोटरसाइकल रोकेको थियो। धरानबाट चतरातर्फ जाँदै गरेका बाराहक्षेत्र नगरपालिका–४ का २७ वर्षीय सुनील गिरीको साथमा ट्रामाडोल ८२ क्याप्सुल र स्पास्मोप्रोक्सीभोन ९स्पास्पेन० १ हजार ९९० ट्याब्लेट फेला परेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गाँजा, ब्राउन सुगर र ट्याब्लेटसहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

