सोमबारदेखि एनपीएल सुरु हुँदै, बिजेतालाई १ करोड १० लाख पुरस्कार

सोमबारदेखि एनपीएल सुरु हुँदै, बिजेतालाई १ करोड १० लाख पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । एनपीएलको उद्घाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

पहिलोपटक एनपीएल त्रिवि खेलमैदान किर्तिपुरको फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

आयोजक क्यानले यसपटक प्रतियोगिताबाट ४० करोड रुपैयाँ बराबर रकम उठाउने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको जानकारी दिए ।

टिम ओनरबाट ९ करोड प्राप्त हुने क्यानले जनाएको छ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका बताउँदै उनले डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको बताए । संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम हुनेछ ।

लिनर टिभीको न्युनतम रकम एक करोड रहेको छ । त्योभन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने अपेक्षा क्यानको छ ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् ।