विर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको रोमाञ्चक खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि भिडन्तका लागि नेपाल पुलिस क्लबसँगको भेट सुनिश्चित गरेको हो ।
खेलको सुरुवातदेखि नै दुबै विभागीय टोली आक्रमणमुखी शैलीमा उत्रिएका थिए। पहिलो हाफमा दुबै पक्षले गोलका अवसर सिर्जना गरेपनि कुनै गोल गर्न सकेनन् ।
खेलको ६३ औँ मिनेटमा आर्मीकी चन्द्रा भण्डारीले एपिएफको डिफेन्स र गोलकिपरबीचको तालमेल बिग्रँदा सहज गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाइन् । तर, खेलको इन्ज्युरी समयमा एपिएफकी कप्तान अनिता बस्नेतले करिब २५ यार्ड दूरीबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याइन् ।
निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने आर्मीका विमला बिक र अनिता लम्जेल मात्र सफल हुन सके । आर्मीकी विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले रोक्दै टिमको जित निश्चित गरिन् ।
उत्कृष्ट प्रदर्शन गरेकी अञ्जना राना मगरलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिसबीच रोमाञ्चक विभागीय भिडन्त कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।