काठमाडौं । अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहेको नेपाली क्रिकेट टोलीले आज हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेल अफगानिस्तानसँग खेल्दैछ । यो खेल हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।
६ ओभरको यो द्रुत गतिको क्रिकेट प्रतियोगितामा हरेक टोलीमा ६ जना खेलाडी रहनेछन् । यसपटकको नेपाली टोलीमा कप्तान भेषावकरसँगै सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान समावेश छन् ।
हङकङ सुपर सिक्सेसमा सहभागी १२ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।ृज्ञे नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ अफगानिस्तान र दक्षिण अफ्रिका जस्ता बलिया टोलीहरु छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई, समूह ‘सी’ मा भारत, पाकिस्तान र कुवेत तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र आयोजक हङकङ रहेका छन् ।
यो प्रतियोगिताको प्रत्येक खेल ६६ ओभरको हुनेछ । खेलको नियमअनुसार, विकेट(किपर बाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्नुपर्नेछ भने कुनै एक ब्याट्सम्यानले ३१ रन बनाएपछि रिटायर हुनुपर्ने प्रावधान छ ।

गत वर्ष २०२४ मा पहिलो पटक सहभागिता जनाएको नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । सो क्रममा नेपालले इङ्ल्यान्ड र अस्ट्रेलिया जस्ता बलिया टोलीलाई पराजित गर्दै सबैलाई चकित पारेको थियो । क्वाटरफाइनलमा भने नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । गत वर्षको उत्कृष्ट प्रदर्शनले गर्दा यसपटक पनि नेपाली टोलीबाट राम्रो नतिजाको अपेक्षा गरिएको छ । नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।