लोड हुँदैछ...

मेनु

कोशी खेलकुद बोर्ड सदस्यसचिव तत्काल नियुक्त गर्न माग

कोशी खेलकुद बोर्ड सदस्यसचिव तत्काल नियुक्त गर्न माग

विराटनगर । कोशी प्रदेशको खेलकुद क्षेत्रका अगुवाहरूले प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव तत्काल नियुक्त गर्न माग गरेका छन् ।

सदस्यसचिव नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएर उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्री कार्कीले समय दिएर पनि कार्यालयमा उपस्थित नहुँदा खेलकुद क्षेत्रसँग सम्बद्ध १६ वटा संघका प्रतिनिधिहरूले प्रमुख सचिव चन्द्रकला पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल कराँते महासंघ कोशी प्रदेश महासचिव तथा मोरङ अध्यक्ष राम लिम्बुले सरकारले योग्य व्यक्ति चयन गर्न ढिलाइ गर्दै राजनीतिक भागबण्डा गर्न खोजेकाले समस्या उत्पन्न भएको आरोप लगाए । उनले प्रदेश सरकार गम्भीर भएर योग्य व्यक्तिलाई तत्काल सदस्य सचिवमा नियुक्त गर्नुपर्ने उनको भनाइ छ ।

ज्ञापनपत्रमा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव तत्काल नियुक्त गर्न माग गरिएको छ । खेलकुद अगुवाहरूले नियुक्तिका लागि स्पष्ट मापदण्ड पालना गर्नुपर्ने सुझाव पनि दिएका छन् । ती मापदण्डमा तीन पटकसम्म राष्ट्रिय खेलकुदमा सहभागी भएको, कोच वा रेफ्रिको लाइसेन्स प्राप्त गरेको र स्पोर्टस साइन्स (एनआइएस) अध्ययन गरेको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

यदि साउथ एशियन गेम्सका ओलम्पियन कोही भए, उनीहरूलाई प्राथमिकता दिनुपर्ने मागसमेत गरिएको छ । खेलकुद अगुवाहरूले विगतमा जस्तै राजनीतिक दलका कार्यकर्ता नियुक्त नगर्न र खेलकुद विकास बोर्डलाई राजनीतिक भागबण्डाको थलो नबनाउन आग्रह गरेका छन् । उनीहरूले विगतका सदस्य सचिव हंशराज वाग्ले र पर्शुराम बस्नेतको कार्यकालमा खेलकुद विकास बोर्डले निष्पक्षता गुमाएको र खेलकुदको वातावरण बिग्रिएको आरोपसमेत लगाएका छन् ।

विगतमा राष्ट्रपतिकप जस्ता राष्ट्रिय खेल प्रतियोगितामा कोशी प्रदेशले गोल्ड मेडल शून्यमा सीमित रहनु, योग्य व्यक्तिहरूलाई बेवास्ता गर्दै तदर्थ समिति गठन गर्नु र राजनीतिक हस्तक्षेप बढ्नु खेल क्षेत्रका प्रमुख समस्या रहेको उनीहरुले बताएका छन् । ज्ञापनपत्र बुझाउनेमा नेपाल कराँते महासंघका कोशी प्रदेश महासचिव राम लिम्बु, सफ्ट टेनिसका खेलाडी दिनेश कर्ण, जिल्ला एथलेटिक्स संघ अध्यक्ष आभास बुढाथोकी, कोशी प्रदेश खोखो संघ महासचिव तथा मोरङ जिल्ला अध्यक्ष बिस्कुलाल चौधरी, तेक्वान्दो प्रशिक्षक द्वारिका रेग्मी, सितोरियो कराँते संघ अध्यक्ष चन्द्र पराजुली, केन्द्रिय सदस्य धर्म न्यौपाने, उसु राष्ट्रिय खेलाडी रामे राजवंशी, फुल कन्ट्याक्ट कराँते मोरङ अध्यक्ष गोपाल मोईथाई, खेल अगुवा किशोर शाही, फुटबल राष्ट्रिय खेलाडी अनुप खनाल, चेस खेलाडी श्याम राई, किक बक्सिङ खेलाडी इश्वर माझी, भलिबल खेलाडी सलमान माझी, विवेक थापा र साहिल गिरी रहेका छन्

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।