लोड हुँदैछ...

मेनु

झापा महिला गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब

झापा महिला गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब

विर्तामोड । झापा महिला गोल्डकप अन्तर्गत अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

दुधे रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्र्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती चरणदेखि नै प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरेको थियो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिएकी थिइन् । आरएसकी उषा शाहीले दिपा राईमाथि गरेको फाउलपछि फ्रिकिक प्राप्त भएको थियो ।

खेलको ३३ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गरिन् । हिमा चौधरीले त्यसमा असिस्ट गरेकी थिइन् ।

पहिलो हाफको इन्ज्युरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्याइन् । दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो । ८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्याइन् ।

९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाइन् । इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन् ।

आर्मीका लागि विमला चौधरीले ह्याट्रिक, विमला विक, जेनिफर राना र शर्मिला थापाले समान एक–एक गोल गरे । खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।

बिहीबारको खेलसँगै गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुबटल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुबटल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।