विराटनगर । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ ।

बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेसँगै नेपालले सिरिजका सबै खेलमा हार ब्यहोरेको हो ।

सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई–दुई खेल नै गुमाउँदै लगातार चार खेलमा पराजय भोग्यो । बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९.१ ओभरमा पूरा गर्‍यो‍ ।

युएईका लागि मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट ब्याटिङ गरे । दुईबीच चौथो विकेटका लागि १४७ रनको साझेदारी भएको थियो । वासिमले ७६ रनको योगदान गरे । शाहदादले ९६ रन बनाए।

दुबईमा टस जितेको घरेलु टोली युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २३९ रन जोडेको थियो । खराब सुरूवात गरेको नेपालका ओपनर २ रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ उकास्न खोजे । तर, १८औं ओभरमा आसिफ ३४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगे । आसिफले ४८ बलमा ४ चौका प्रहार गरे । आसिफ र भीमबीच दोस्रो विकेटका लगि ७४ रनको सोझेदारी भयो ।

२१ औं ‌ओभरमा कप्तान रोहितकुमार पौडेल २ रनमा आउट हुनपुगे । दुई ओभरपछि भीम सार्की पनि ४८ रन जोडेर पेभिलियन फर्के । भीमले ६८ बलमा ७ चौका प्रहार गरे ।

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो । दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बटुले । आरिफ आउट भएको अर्को ओभरमा करण केसी खाता नै नखोली पेभिलियन फर्किए ।

अन्तिम ओभरको पाँचौ बलमा आउट भएका कुशल मल्लले ४५ रन बनाए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप लामिछानले १० बलमा नटआउट १५ रन बनाए ।

बलिङमा युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले २–२ विकेट लिए ।

यो जितसँगै युएईले २० खेलबाट १० अंक जोडेको छ । नेपालको १२ अंक छ । अंक तालिकामा युएई पुछार अर्थात् आठौं स्थानमा छ भने नेपाल सातौं स्थानमा छ । सिरिजमा चारै जितेको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ ।