विराटनगर । कोशी प्रदेश सरकारलाई कटहरी गाउँपालिकाले फलफूल तथा तरकारी थोक बजारको भवन हस्तान्तरण गर्ने भएको छ । सो स्थानमा कोशी प्रदेशसभा सचिवालय संचालन गर्ने प्रदेश सरकारको तयारी छ ।
प्रदेश सभा सचिवालय रहेको विराटनगरको देवकोटा चौकस्थित जिल्ला समन्वय समितिको भवन जेनजी आन्दोलनका क्रममा पूर्णरुपमा क्षतिग्रस्त भएकाले प्रदेश सभाको सचिवालयको कार्यालय त्यहाँ सार्न लागिएको हो ।
कटहरी गाउँपालिकाले प्रदेश सरकारलाई पत्राचार गर्दै तरकारी बजारको भवनबाट प्रदेशसभा सञ्चालन गर्न सहमति प्रदान गरेको जनाएको छ । कोशी प्रदेश सरकारले केही दिनभित्रै कटहरीको तरकारी बजारको संरचनाबाट प्रदेशसभाका कामहरु सुरु हुने जनाएको छ । त्यसका लागि कोशी प्रदेश सरकारको आउँदो मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्नेछ । प्रदेश सभा सचिवालय सर्ने निश्चित भएसँगै कटहरीस्थित तरकारी बजारमा मङ्गलबार देखिनै सरसफाई सुरु गरिएको छ ।
विराटनगरसँग सिमा जोडिएको कटहरी गाउँपालिकामा रहेको तरकारी बजार यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले १३ करोड ७६ लाख ५४ हजार ७०० रुपैयाँ (भ्याटबाहेक) लागतमा कटहरीमा निर्माण गरेको हो । त्यहाँ हाल हाटबजार लाग्दै आएको छ । त्यहाँ रहेका भवनहरु भने उपयोगविहीन छन् ।
कटहरी–१ को जनप्रिय माध्यमिक विद्यालयको ४ बिघा २ कठ्ठा २ धुर र पालिकाको १८ कठ्ठा जग्गामा निर्माण भएको बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायत पूर्वाधार छन् । २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो संरचनाको उद्घाटन गरेका हुन् ।

