विराटनगर । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध २७२ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको हो ।
खेलमा दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
आसिफ शेख, आरिफ शेख र गुल्सन झाले दोहोरो अंकमा रन बनाउन सकेनन् । नन्दन यादवले १, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले १ रन बनाए ।
अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।
जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।


