विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ जना सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा विद्यावारिधि हासिल गर्ने, अग्रज सदस्य, असल ऋणी र उत्कृष्ट बचतकर्ता शेयर सदस्यहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यावारिधि गर्ने शेयर सदस्यद्वय डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई सम्मान गरिएको थियो । त्यसैगरी, अग्रज शेयर सदस्य केशवबहादुर कार्की, असल ऋणीतर्फ अनिल श्रेष्ठ तथा उत्कृष्ट बचतकर्ताका रूपमा कुलानन्द गच्छदार र कविता घिमिरेलाई सम्मान गरिएको छ ।
यस वर्षदेखि संस्थाले शेयर सदस्यका सन्ततिलाई शैक्षिक पुरस्कार प्रदान गर्न सुरु गरेको छ । जसअनुसार एसईईतर्फ श्रेय शर्मा र मेघा श्रेष्ठ तथा कक्षा १२ र सीटीईभीटी तीनवर्षे तहतर्फ मृदुला विष्ट र हृषव पोखरेललाई पुरस्कृत गरिएको छ । सम्मानित तथा पुरस्कृत सबैलाई जिल्ला अदालत मोरङका न्यायाधीश केशवप्रसाद घिमिरेले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

२०६९ सालमा स्थापना भएको यस सहकारीमा हाल १२१ जना शेयर सदस्य रहेका छन् । साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१–८२ मा संस्थाले १ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको सहकारीका अध्यक्ष दिपक दाहालले जानकारी दिए । सोही अवधिमा संस्थाले १३ लाख ६६ हजार ९८९ रुपैयाँ कुल आम्दानी गरी ५ लाख ८ हजार ९६४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।


 
						 
															 
															 
															 
															 
															 
															