विराटनगर । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका ७० वर्षीय एक कैदीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ।
सुन्दरहरैँचा नगरपालिका–६ निवासी रामप्रसाद दाहालको आइतबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेले जानकारी दिए।
उनका अनुसार दाहाललाई शनिबार बिहान करिब ११ः३० बजे अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आइतबार बिहान निधन भएको हो।
कारागार प्रशासनले दाहाल बिरामी परेलगत्तै परिवारका सदस्य तथा आफन्तलाई जानकारी गराएको थियो। आफन्तकै उपस्थितिमा उपचार गरिए पनि चिकित्सकको प्रयास सफल हुन नसकेको प्रशासनले जनाएको छ।
दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी थिए। उनी २०७५ पुस ६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए। पछि जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गर्दै १६ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार उनी २०९१ पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।
सजाय अवधि सकिन अझै लामो समय बाँकी रहे पनि करिब साढे सात वर्ष जेल जीवन बिताइसकेका दाहालको उपचारकै क्रममा मृत्यु भएको हो। उनको शव हाल कोशी अस्पतालमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ।
जिल्ला कारागार मोरङमा हाल एक हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। तीमध्ये एक हजार ९७ जना पुरुष, एक सय १० जना महिला तथा एक जना आश्रित बालिका रहेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।