विराटनगर । भारतको सिक्किममा आयोजितअन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा पनि नेपालले भारतलाई हराएको छ ।
गान्तोकमा बुधबार भएको नेपाल र भारतको महिला टोलीबीचको एक्जिबिजन खेलमा नेपालले भारतलाई हराएको हो । सोमबार पनि नेपालले भारतलाई २–१ ले हराएको थियो।
निर्धारित ९० मिनेट एक–एक गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा नेपाल ३–० गोलले विजयी भयो । पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार आउट भयो ।
भारतका लागि पहिलो पेनाल्टी हानेकी प्रियादर्शनीको प्रहार नेपालकी सब्सिच्युट गोलकिपर अन्जना रानामगरले रोकिन् । भारतका लागि दोस्रो पेनाल्टी हानेकी सन्तोषको प्रहार आकासियो। यस्तै अष्टम ओरमको तेस्रो प्रहार पनि अन्जनाले विफल पारिन् ।
त्यसअघि खेलमा भारतले ३०औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि सौम्यले गोल गरेकी थिइन् । नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्कायो । कर्नर बलमा रश्मिकुमारी घिसिङले गोल फर्काएकी थिइन् ।
खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले सम्हालेकी थिइन् । खेलमा नेपालले दोस्रो रोजाइको टोली मैदान उतारेको थियो ।
सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक पुगेको थियो । खेल बिहीबार हुने भनिएपनि बुधबारका लागि सारिएको थियो । जसका करण नेपाली हतार–हतार गान्तोक पुगेका थिए।
सोमबार भारतविरूद्ध २–१ गोलको जित निकाल्दा कप्तान सावित्रा भण्डारी साम्बाले दुवै गोल गरेकी थिइन् । बुधबार कप्तान साम्बासहित स्टार मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा थिएनन् ।
भारतसँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक नवीन न्यौपानेले १० नयाँ खेलाडीलाई मौका दिएका थिए । यसअघि अन्तर्राष्ट्रिय खेलमा नेपाल इरानसँग ३–० ले पराजित हुँदा घरेलु टोली भारतलाई २–१ ले हराएको थियो ।


