काठमाडौं । नेकपा (एमाले) का पूर्वसांसद र व्यवसायी देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार राति काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवप्रसाद श्रेष्ठका अनुसार, भट्टचनसँग सम्बन्धित प्रभु ग्रुपको सहायक कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिमा आर्थिक हिनामिनासम्बन्धी गुनासोका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको छ। उनले भने, “भट्टचनलाई नियन्त्रणमा लिइएको छ। कार्यालयबाट खटिएको टोलीले सम्बन्धित कागजात पनि जफत गरिरहेको छ, विस्तृत विवरण भोलि सार्वजनिक गरिनेछ।”
भट्टचन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। उनी प्रभु ग्रुपका अध्यक्षसमेत रहेका थिए। सो समूह अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिमाथि सहकारी संस्थाहरूको रकम हिनामिनाको आरोप लाग्दै आएको छ।
अभियोग अनुसार, प्रभु म्यानेजमेन्टले देशभरका करिब चार सय सहकारी संस्थालाई रेमिट्यान्स भुक्तानी एजेन्ट बनाएको थियो। त्यस क्रममा कम्पनीले सहकारीहरूबाट धरौटी रकम उठाएको तर, पछि रेमिट्यान्सका भुक्तानी रकम फिर्ता नगरेको पाइएको छ।
गोरखा, भक्तपुरलगायत जिल्लाका सहकारीहरूले करिब १ अर्ब रुपैयाँ बराबरको रकम नपाएको गुनासो दर्ता गराएका छन्। गोरखास्थित हिमचुली, भीमकुल, सुलिकोट, सिद्धिगणेश, शीतला लगायतका बचत तथा ऋण सहकारीहरूले कम्पनीमाथि ठगीको उजुरी दिएका थिए।
यसअघि पनि प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भट्टचनको नाम मुछिएको थियो। प्रभु म्यानेजमेन्टकी तत्कालीन अध्यक्ष कुसुम लामा ले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्। तर, केपी ओली नेतृत्वको सरकारको राजनीतिक दबाबको कारण जाहेरीमाथि अनुसन्धान हुन सकेको थिएन।
जाहेरी लामो समयसम्म प्रहरीले अगाडि नबढाए पनि हाल सीआईबीले अभियोगलाई गम्भीर रूपमा लिएर छानबिन अघि बढाएको जनाएको छ। प्रहरीले भट्टचनलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ थालेको र आवश्यक कागजात संकलन भइरहेको जनाएको छ।


