विराटनगर । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंक बढेको छ । तिहारपछिको पहिलो कारोबार दिन गत आइतबार सामान्य अंक बढेको नेप्से मंगलबार उच्च अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ४७ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको ९२ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।
कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ६.३६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
बजारकाक १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा धेरै बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको हो ।


