विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न पुनः माग गरेको छ ।

महासंघले ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको भन्दै यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले औद्योगिक क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गर्दै पछिल्ला घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्‍याएको जनाएको छ । ‘घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरूबाट जानकारी प्राप्त भइरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दिर्घकालीन असर पार्नेछ ।’

महासंघले निजीक्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व गराउन पनि माग गरेको छ । यसबारे महासंघले गृहमन्त्रालयमा पत्राचार समेत गरिसकेको जनाएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने तथा स्थायित्व नभई उद्यम व्यवसाय संचालन हुन नसक्ने बताएका छन् । यसले अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने उनको चेतावनी छ ।

दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता सरकारले गर्नुपर्ने श्रेष्ठले बताएका छन् । समाजमा थप अन्यौल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहीनताको अन्तको लागि दोषीमाथि छानबिन गरी कारबाहीको गर्नुपर्ने उनको भनाइ छ ।

देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ ।